२३ जेठ, काठमाडौं ।

राहत वितरणको नाममा भुकम्प प्रभावित क्षेत्रका बालबालिकाहरुको तस्करी हुन थालेको छ । मानव बेचबिखनमा सक्रिय समहहरु भुकम्प पीडितहरु बसेको शिविरमा पुगेर राम्रो काम र बासस्थानको प्रलोभन देखाइ बालबालिकाको तस्करी गर्न थालेका हुन् ।

पालमुनिको असुरक्षित बसाईको मौका छोप्दै तस्करहरु राहत वितरणको नाममा भुकम्प प्रभावित बालबालिकालाई आफ्नो पञ्जामा पार्ने अभियानमा लागेका छन् । राहत वितरणको नाममा सिन्धुपाल्चोक पुगेका दुई चीनिया नागरिक र तीन जना नेपाली दुई बालबालिकालाई चीनतर्फ लैजाँदै गर्दा पक्राउ परेका छन् ।

balbalika

फाइल तस्विर

सिन्धुपाल्चोकमा करिव ६४ हजार घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । एक दर्जनभन्दा बढी गाविसका १० हजारभन्दा बढी परिवार विस्थापित भई काठमाडौ उपत्यकाका विभिन्न स्थानमा पाल र टेण्टमा बसेका छन् । भुकम्प प्रभावितहरुले पाल र टेण्टमा वस्नुपर्दाको वाध्यताको फाइदा उठाइ विपन्न परिवारका तथा भुकम्पबाट टुहुरा बनेका बालवालिकाहरुलाई तस्करहरुले विभिन्न प्रलोभनमा आफ्नो पञ्जामा पारिरहेको स्वयम् जिल्ला बाल कल्याण समितिले स्वीकार गरेको छ ।

बाल कल्याण समितिको अनुमति बिना कसैले पनि बालबालिकालाई परिवारबाट अलग गरेर जिल्ला वाहिर लान पाउँदैन । तर सिन्धुपाल्चोकमा भने भुकम्प प्रभावित बालबालिकाहरुलाई अपहरणको शैलीमा जिल्ला बाहिर लैजाने क्रम बढेको जिल्ला बाल कल्याण समितिले बताएको छ ।

भुकम्प प्रभावितहरुमध्ये पनि विस्थापित परिवारका बालबालिका बेचबिखनको बढी जोखिममा रहेको अधिकारकर्मीहरुको भनाइ छ । बालबालिकाको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुले असुरक्षित बास, साँझविहानको छाक टार्ने समस्या लगायतका कारण विस्थापित अभिभावकहरु सजिलै तस्करको प्रलोभनमा परेका हुन् ।

सरकारले भुकम्प प्रभावितहरुको खानेबस्ने समस्यालाई सम्बोधन नगरे बालबालिकाको बेचबिखन मौलाएर जाने भन्दै अधिकारकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् ।