२७ फागुन, एजेन्सी । संयुक्त राज्य अमेरिकामा रिपब्लिकन पार्टीका पाँच जना बरिष्ठ नेताहरु पनि क्वारेन्टाइनमा बसेका छन् । जसमा सिनेटर टेड क्रुज पनि सहभागी छन् । वासिङटन डिसीबाहिर एक कन्जरभेटिभ सम्मेलनमा गएर फर्किएका उनीहरुले भेटेका मानिसमा कोरोना पोजेटिभ पाइएपछि उनीहरु डराएर आफैं क्वारेन्टाइनमा बसेका अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

पाँचमध्ये दुईजना सांसदहरुसँग भेटेकाले राष्ट्रपति डोनाल्ड ट्रमपलाई पनि भाइरसको संक्रमण हुन सक्ने चिन्ता व्यक्त गरिएको छ । म्याट गेट्ज सोमबार एयर फोर्स वनमा राष्ट्रपति ट्रम्पसँगै यात्रा गरेका थिए । डग कोलिन्स कोरोना भाइरसको ब्रिफिङका क्रममा राष्ट्रपति ट्रम्पसँगै रोग नियन्त्रण तथा रोकथाम मुख्यालयमा सहभागी थिए ।

राष्ट्रपति ट्रम्पका भावी प्रशासन प्रमुख मार्क मिडोज पनि आफैं क्वारेन्टाइनमा बसेका छन् । ह्वाइट हाउसका प्रेस सेक्रेटरी स्टेफेन ग्रिसमले राष्ट्रपति ट्रम्पले अहिलेसम्म भाइरसको परीक्षण नगराएको बताएका छन् । आफ्नो राजनीतिक सर्कलका नेताहरु आफैं क्वारेन्टाइनमा गएपनि ह्वाइट हाउसले भने राष्ट्रपति ट्रम्पको भाइरस परीक्षण आवश्यक नरहेको तर्क गरेको छ । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण २७ जनाको मृत्यु भइसकेको छ । ६ सय ८७ जना संक्रमितको उपचार चलिरहेको छ ।