५ माघ, तिलोत्तमा (रुपन्देही) । रूपन्देही जिल्लामा बुधवारदेखि ग्यासको मूल्य घटेको छ ।

आयल निगमले पुस २० गतेदेखि नै रुपन्देहीमा प्रतिसिलिन्डर रु २० घटाए पनि ग्यास बिक्रेता सङ्घको आन्दोलनले लागू हुन सकेको थिएन ।

नेपाल आयल निगमका अनुसार भारतको मथुरा र कर्नाल डिपोबाट आउने आयल निगम क्षेत्रीय कार्यालय भलवारीको ढुवानी खर्च कम भएकाले मूल्य घटाइएको हो । निगम केन्द्रीय कार्यालयले रुपन्देही, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लामा मूल्य घटाएको छ ।

नेपाल आयल निगम क्षेत्रीय कार्यालय भलवारीका अनुसार नयाँ निर्णयअनुसार अबदेखि उपभोक्ताले रु एक हजार ३०५ मा ग्यास खरिद गर्न पाउने छन् । रुपन्देहीमा चारवटा ग्यास उद्योग सञ्चालनमा छन् ।

यसैबीच नेपाल आयल निगमले रुपन्देहीमा खाना पकाउने एलपी ग्यासको उपभोक्ता मूल्य घटाएपछि आफूहरुले पाउँदै आएको कमिशन कम भएको भन्दै आन्दोलनमा उत्रिएका बिक्रेता र ग्यास उद्योगीबीच आज सहमति भएको छ । सहमतिसँगै ग्यास बिक्रेताले ग्यास उपभोक्तालाई बिक्री गर्न थालेका छन् ।

बुटवलमा यस क्षेत्रका ग्यास उद्योगी र ग्यास बिक्रेता सङ्घको संयुक्त बैठक बसेर सबै क्षेत्रमा भएको मूल्यवृद्धि र लगानीअनुसार ग्यासको कारोबारमा सरकारले दिएको कमिशन न्युन भएको भन्दै व्यवसायीले आन्दोलन गर्दै आएका थिए ।

उद्योगी र बिक्रेताले भ्याटकै कारण उद्योगी र बिक्रेता दुवै मर्कामा परेको निष्कर्ष निकाल्दै भ्याट खारेजी र बिक्रेताले पाउँदै आएको कमिशन यथावत कायम गराउन सरकारलाई माघ १९ गतेसम्म समय दिने र त्यतिबेलासम्म माग पूरा नभए संयुक्तरुपमा आन्दोलन गर्ने सहमति भएको ग्यास बिक्रेता सङ्घ रुपन्देहीका अध्यक्ष वसन्त गौचनले जानकारी दिनुभयो ।

जिल्लामा बुटवल, सिद्धार्थ, त्रिशूल र स्वस्तिक गरी चारवटा ग्यास उद्योग छन् ।