६ मंसिर, एजेन्सी । भारतको नम्बर एक स्मार्टफोन कम्पनी रेडमी नोट सेभेन एस मोबाइल फोन सेटमा आफैं आगो लागेको छ ।

मुम्बईका इश्वर चौहानले चलाइरहेको यो मोबाइल फोनमा आफैं आगो लागेको हो । उनले फेसबुकमा यसबारे विस्तृत विवरण राख्दै चार्जमा नहुँदा पनि आगो लागेको दाबी गरेका छन् । फ्लिपकार्टबाट गएको अक्टुबरमा रेडमी नोठ सेभेन एस किनेको उनले उल्लेख गरेका छन् ।

‘फोन टेबुलमा राखेको थियो । अचानक केही जलेको जस्तो गन्ध आयो ।’ उनले लेखेका छन् , ‘हेर्दा त मोबाइलमा आगो लागिरहेको रहेछ ।’ इश्वरले यसबारे शाओमी कम्पनीसँग कुरा गरी घटनाबारे जानकारी गराए । पाँच दिनपछि आफ्नो उत्पादन जाँच गरेर कम्पनीले मोबाइलको ब्याट्रीमा कुनै खराबी नरहेको र ग्राहककै कारण घटना भएको दाबी गर्यो ।

त्यसपछि इश्वरले आफू कम्पनीको जवाफबाट खुशी नभएको र विक्री पछि कम्पनीले दिने सर्भिस सन्तोषजनक नरहेको बताएका छन् । साओमीले यस घटनामा एउटा विज्ञप्ती नै जारी गरेर ग्राहककै लापरवाहीले यस्तो घटना भएको भन्दै भ्रममा नपर्न ग्राहकलाई आग्रह गरेको छ । उसले आफ्नो उत्पादनको गुणस्तर नै आफूहरुको पहिलो प्राथमिकता रहेको दाबी गरेको छ ।