१६ चैत, एजेन्सी । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि भारतले लकडाउन घोषणा गरेपछि हजारौं प्रवासी मजदुरहरु बेरोजगार भएका छन् ।

खानपीन र बस्नको समस्या भएपछि त्यस्ता मजदुरहरु सडकमा निस्किएका छन् । दिल्ली र उत्तर प्रदेशको स्थानीय सरकारले अब उनीहरुलाई घर पुर्याउन बसको व्यवस्था गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको कार्यालयबाट दिइएको जानकारी अनुसार उनीहरुलाई घर पठाउन १ हजार सार्वजनिक र निजी बस परिचालन गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले हिजो ट्वीट गर्दै बसको व्यवस्था गरिएको जानकारी दिँदै मानिसहरुलाई घरमै बस्न आग्रह गरेका छन् । ‘कृपया आफ्नो घरमै बस्नुहोस् । आफ्नो गाउँ नजनुहोस् ।’ उनले भनेका छन्, ‘अन्यथा लकडाउनको उद्देश्य पूरा हुँदैन ।’