१७ चैत, काठमाडौं । नेपाल र भारतदुवैतर्फ लकडाउन भएपछि मजदुरीका लागि भारतमा रहेका नेपालीहरु मर्कामा परेका छन् ।

भारतले पनि लकडाउन गरेपछि घर फर्कन हिँडेका धेरैले सीमामा सास्ती खेप्नुपरेको छ । प्रवेश गर्ने अनुमति पाएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने डरले मानिसहरु चोरबाटोबाट ज्यान जोखिममा राखेर नेपाल प्रवेश गरिरहेका छन् । उनीहरु ज्यानको बाजी राखेर महाकाली नदीबाट आउन थालेका छन् ।
कोही ट्युवबाट तरेका छन् भने कसैले पौडिएरै आउने आँट पनि गरेका छन् । सरकारले नाका नखोलेपछि दार्चुला सीमा क्षेत्रमा रोकिएकामध्ये बैतडीको डिलासैनी गाउँपालिकाका ४८ वर्षीय इन्द्रराज खत्रीले पौडिएर महाकाली नदी पार गरी नेपाल प्रवेश गरेका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।