११ चैत, काठमाडाैं । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो । सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

सिंहदरबार अगाडिको सडक ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको बताए ।

“लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् ”, उनले भन्नुभयो । सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको सङ्ख्यामा नगण्य छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

असन क्षेत्र ।
काठमाडौँ र भक्तपुरको जोडने जडिबुटी चोक ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल ।
सडकमा अनुमतिपत्र नलिई गुडेका सवारी साधनलाई चेकिङ्ग गर्दे ट्राफिक प्रहरी ।
काठमाडौँको तीनकुने गौशाला क्षेत्रको सुनसान सडक ।
सुनसान देखिएको मध्यपुरथिमि शङ्खधरचोक ।

सबै तस्विर: रासस