४ माघ, काठमाडौं । लाइसेन्स लिने प्रक्रियालाई आधा घन्टादेखि १ घन्टामा सीमित गर्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको घोषणा सार्वजनिक खपतका लागि मात्र भएको पुष्टि भएको छ ।

गत बिहीबार सवारीचालक अनुमतिपत्र फाराम भरेका सेवाग्राहीले सोमबारसम्म पनि प्रयोगात्मक परीक्षा दिन पाएका छैनन् । यसका साथै कहिले उनीहरूको पालो आउँछ भन्ने कार्यतालिकासमेत सवारीचालक अनुमतिपत्र कार्यालयले सार्वजनिक गरेको छैन ।

yatayat-office

कार्यालयका कर्मचारीका अनुसार बिहीबार फाराम भरेका सेवाग्राहीको शुक्रबार लिखित परीक्षा र आइतबार प्रयोगात्मक परीक्षा (ट्रायल) हुनुपर्ने थियो । जसअनुसार शुक्रबार लिखित परीक्षा र परीक्षाफल सार्वजनिक गर्नुपर्ने थियो । तर, परीक्षा दिएका करिब ६ सयजनाको सोमबारसम्म परीक्षाफल सार्वजनिक गरिएको छैन । कार्यालयले सोमबार कार्यालय आउन आइतबार सूचना जारी गरेको थियो ।

तर, सोमबार कार्यालय पुगेका सेवाग्राहीको लाइसेन्स लिने प्रक्रिया अघि बढ्न सकेन । यसका साथै सवारीचालक अनुमतिपत्र कार्यालय एकान्तकुनाले गत बिहीबारदेखि थप लाइसेन्स फाराम लिएको छैन । यसरी ढिलाइ हुनुमा कम्प्युटर प्रणालीकृत सर्भरमा निरन्तर समस्या आउनुलाई मानिएको छ ।

सर्भरमा आएको समस्याकै कारण दु्रतगतिमा सेवा प्रदान गर्न नसकिएको सवारीचालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका नाम उल्लेख गर्न नचाहने एक कर्मचारीले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।