२२ असार, काठमाडौं । लामो दूरीका सार्वजनिक यात्रुवाहक सवारीसाधन अब गोँगबु तथा पुरानो बसपार्कबाट मात्र आगमन तथा प्रस्थान गर्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईको अध्यक्षतामा आज विभागअन्तर्गतका कार्यालय र ट्राफिक महाशाखाका प्रमुखसहित बसेको बैठकले उपत्यकाको सवारी साधनलाई व्यवस्थित बनाउन उक्त व्यवस्था गरिएको हो ।

लामो दूरीका सवारीसाधन यात्रु लिएर उपत्यकाका विभिन्न स्थानमा लैजाने तथा ल्याउने गरेपछि ठाउँठाउँमा जाम हुने भन्दै उक्त व्यवस्था गरिएको महाशाखाका प्रमुख मिङ्मार लामाले जानकारी दिए ।

बैठकले अब उपत्यकाभन्दा बाहिरबाट आएका सवारीसाधन कलङ्कीबाट सिधा नयाँबसपार्क आउनुपर्ने र नयाँ बसपार्कबाट बाहिर जाने सवारीसाधन कलङ्कीबाट सिधा बाहिरिनुपर्ने व्यवस्थासमेत गरेको छ । उक्त नियम लागू नगर्ने सवारी साधनलाई साउन १ गतेदेखि कारबाही गरिने लामाले बताए ।

यस्तै विभागले नयाँ तथा पुरानो बसपार्कको क्षमता र सवारी साधनको सङ्ख्या हेरी वैकल्पिक व्यवस्थापनका लागि स्थानीय निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।

यसैगरी चक्रपथका हरियाली क्षेत्रमा सवारीसाधन पार्किङ गरेमा असार २५ गतेदेखि कारबाही अभियान चलाउने बैठकले निर्णय गरेको छ । रासस