१५ वैशाख, काठमाडौं।
चीनको बेइजिङमा हुने ‘वान बेल्ट वान रोड (ओबीओआर)’ परियोजना सम्मेलनमा नेपालले सहभागी जनाउने निश्चित भएको छ। नेपालले सम्मेलनअगावै परियोजनामा सहभागितासम्बन्धी समझदारीपत्रमा समेत हस्ताक्षर गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी चीन जान निर्देशन दिएका छन्। आजको राजधानी दैनिकमा खबर छापिएको छ।

प्रधानमन्त्री दाहाल गत महिना चीन भ्रमणका क्रममा ओबीओआरको सहमतिमा हस्ताक्षर गरी सम्मेलनमा सहभागी हुने चिनियाँ राष्ट्रपतिसहितका नेताहरूलाई प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री दाहाल चीन भ्रमणका क्रममा ओबीओआरमा प्रतिबद्धता जनाएपछि मात्र राष्ट्रपति सीसँग भेट तय भएको थियो। प्रधानमन्त्री दाहालले आफूले गरेको प्रतिबद्धताअनुरूप सम्मेलनमा सहभागी हुन अर्थमन्त्री महरालाई नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरी चीन जान भनेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसबारेमा प्रधानमन्त्री कार्यालयले परराष्ट्र मन्त्रालयलाई समेत जानकारी गराएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. ऋषिराज अधिकारीले बताए। सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री दाहाललाई चीनले निम्तो दिए पनि नेपालमा स्थानीय तहको निर्वाचनका कारण उनी सहभागी हुन नसक्ने भए पनि उपप्रधानमन्त्री महरालाई त्यसतर्फ जान भनेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। ओबीओआर सम्मेलन १४ र १५ मेमा बेइजिङमा हुँदै छ।

नेपालमा वैशाख ३१ अर्थात् १४ मेमा नै पहिलो चरणको स्थानीय तहको निर्वाचन हुँदै छ। महरा उपप्रधान तथा अर्थमन्त्री भएसँगै उनको यो तेस्रो चीन भ्रमण हो। दाहाल नेतृत्वमा सरकार गठन भएपछि सरकारको विशेष दूतका रूपमा राष्ट्रपति सी जिङ पिङलाई नेपाल भ्रमणको निम्तो दिन उनी चीन गएका थिए। यसपटकको भ्रमणमा समझदारीपत्रमा हस्ताक्षर हुने गरी तयारी भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। नेपालले सम्मेलनअगावै ओबीओआरमा सहभागिताका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरेको छ।

स्रोतका अनुसार नेपाली प्रतिनिधि मण्डल १३ मेमा नै बेइजिङमा पुग्ने र समझदारीपत्रमा हस्ताक्षर गर्नेछ। सम्मेलनमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की र वाणिज्यमन्त्री रोमी गौचन थकालीसमेत सहभागी हुनेछन्। नेपाली प्रतिनिधिमण्डलबारे शुक्रबार (आज) चीनलाई जानकारी पठाइनेछ। सम्मेलनमा सहभागी हुन चीनले शुक्रबारसम्म नाम दर्ता गराउन पत्राचार गरेको छ। सोहीअनुरूप पत्राचारको तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

चीनसँग हुने सम्झौताका लागि नेपालले आन्तरिक र द्विपक्षीय गृहकार्यमा जुटेको छ। प्रधानमन्त्री चीन भ्रमणबाट फर्किएलगत्तै सहमतिका लागि परराष्ट्र मन्त्रालयले गृहकार्यलाई तीव्र रूपमा अगाडि बढाएको छ। सहमतिका लागि गृहकार्य भइरहेको र अहिलेसम्म टुंगिइनसकेको परराष्ट्र सचिव शंकरदास बैरागीले जानकारी दिए। ओबीओआरका विविध पक्षका विषयमा छलफल भइरहेको उनले बताए। परराष्ट्र मन्त्रालयले समझदारीपत्रको ड्राफ्ट तयारी गरिरहेको छ।

ओबीओआर परियोजनाले रेलवे, सडक कनेक्टिभिटी, सामुद्री मार्ग, अन्तर्देशीय ट्रान्स्मिसन लाइन, खुला व्यापारलगायका पक्षहरू समावेश गरेको छ। नेपाल पूर्वाधार निर्माणका विषयमा खुला रहे पनि खुला व्यापारका सन्दर्भमा भने तयार छैन। नेपालको उत्पादन कम रहेको र खुला व्यापारसम्बन्धी नेपाली स्वार्थलाई केन्द्रमा राखेर समझदारी गरिने परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले बताउँदै आएका छन्। सन् २०१३ मा चिनियाँ राष्ट्रपति सीले संसारकै ठूलो आर्थिक कोरिडोर र भौतिक पूर्वाधार निर्माणसम्बन्धी महत्वाकांक्षी परियोजना ओबीओआरलाई अगाडि बढाएका थिए। यस परियोजनाबाट ६६ देश लाभान्वित हुने चीनले बताउँदै आएको छ।