८ मंसिर, काठमाडौं । म्याग्दीमा वाम गठबन्धनका उमेद्वारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ ।

बेनी नगरपालिका २ भकिम्लिको तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो ।

बेनपा २ भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडीभन्दा करिब ७ मिटर अगाडीको सडकमा विस्फोट भएको थापाले बताए । दिउँसो पौने १ बजेतिर ठूलो आवाज आउनेगरी बिस्फोट भएपछि उम्मेद्वारको टोलीले प्रहरीलाई जानकारी गराएका थिए ।
विस्फोटबाट कुनै क्षति भने भएको छैन ।

बिस्फोट भएको ठाउँको सडकमा खाडल परेको छ । बिस्फोटको सूचना पाउने वित्तिकै सुरक्षाकर्मीको टोली घटनास्थल पुगेर अनुसन्धानमा जुटेको प्रहरी नायव उपरिक्षक बसुन्धरा खड्काले बताइन् ।

सोही क्षेत्रमा कात्तिक २८ गते नेपाली काँग्रेसका प्रतिनिधिसभाका उमेद्वार खम्बिर गर्बुजालाई लक्षित गरेर बिस्फोट भएको थियो । चुनाव बिरोधी गतिबिधि गरिरहेको नेत्रबिक्रम चन्द नेतृत्वका नेकपाका कार्यकर्ताले बिस्फोट गराएको सुरक्षा निकायले शंका गरेपनि घटनामा संलग्नको पहिचान हुन सकेको छैन् ।