१० भदौ, जनकपुरधाम ।

आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि पहल गरिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको कुनै औचित्य नरहेको बताएका छन् ।

आफूहरुले कुनै नयाँ मागका लागि आन्दोलन नगरेको बताउँदै उनले विगतमा भएको आठ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

Upendra Yadav

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफूहरुसँग भएको २२ बुँदे र आठ बुँदे मागलाई संविधानमा ठाउँ दिए तत्काल आन्दोलन रोकिने स्पष्ट पारे । अहिले जारी आन्दोलन रोकिन तत्कालीन सरकारले आफूहरुसित गरेको सम्झौता आगामी संविधानमा सुनिश्चित हुनुपर्ने ‘बटमलाइन’ रहेको उनले बताए ।

चार दलका केही नेताले व्यक्तिगत स्वार्थका लागि प्रस्तुत गरेको सङ्घीय संरचनाको खाका अन्तरिम संविधान तथा विगतका आन्दोलनहरुको भावना विपरीत रहेको उनको भनाइ थियो ।

संविधानसभालाई लत्याई चार दलका चार नेताले आफूखुसी गरेको र १६ बुँदे सहमतिका कारण देश द्वन्द्वमा फसेको उनले बताए ।

यसैगरी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अर्को घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले छुट्टै पत्रकार सम्मेलन गरी विगतको आन्दोलनका उपलब्धि र सम्झौताहरु संविधानमा सम्बोधन गरिएमात्र आन्दोलन रोकिने बताए । रासस