२३ जेठ, काठमाडौं ।

विश्व आर्थिक शक्तिका रुपमा उदाइरहेका नेपालका दुई ठूला छिमेकी देशले नेपाललाई कुनै जानकारी नै नगराई नेपालको भूमीलाई आफ्नो ब्यापारिक नाका बनाउने सम्झौता किन गरे भन्ने सन्दर्भमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्वोधन गर्दै पत्र पठाएको छ । पत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चीन भ्रमणका क्रममा गरिएको ४१ बुँदे ब्यापार सम्झौताको एक बुँदाले नेपालको सार्वभौमिकता माथि आक्रमण गरेको उल्लेख छ ।

Biplab and modi

माओवादीले पठाएको पत्रमा सम्झौतामा उल्लेख गरिएको लिपु लेक कहाँ पर्छ भन्ने कुरा पनि मोदीलाई राम्ररी सम्झाइएको छ । पत्रमा लिपुलेक लिम्पियाधुराभन्दा ५३ किलोमिटर पूर्वमा नेपालको दार्चुला जिल्लामा पर्ने र त्यो क्षेत्र अन्तर्गत गुन्जी लगायतका गाउँहरु नेपालका गाउँहरु भएको जानकारी गराइएको छ । भारतीय प्रधानमन्त्री मोदीले गत वर्षमात्र त्यो क्षेत्रमा भ्रमण गरेर कालापानी क्षेत्रको समेत सम्झौताहरु हेर्न र नक्सासमेत अध्ययन गरी विवाद मिलाउन निर्देशन दिएको कुरालाई बिर्सेको भन्दै त्यसलाई ध्यान दिन आग्रह गरिएको छ ।

राष्ट्रियता र जनजीवीकाका मुद्दामा सबैसँग मिलेर संघर्ष गर्न केही समय अगाडि माओवादीका महासचिव चन्दको सक्रियतामा गठन गरिएको संघीय जनवादी मोर्चा, नेपालले यो पत्र मोदीलाई पठाएको हो । पत्रमा मोर्चाका पोलिटब्यूरो सदस्य तिलक परियारको हस्ताक्षर रहेको छ ।

यस अघि यसै विषयमा सीमाविदहरुले पनि आपत्ति जनाएका थिए । उनीहरुले व्यास क्षेत्रमा पर्ने लिपु, लिम्पीयाधुरा, कालापानी गरी करिब ३ सय ७२ दशमलब १० बर्ग किलोमिटर क्षेत्र सार्वभौम राष्ट्र नेपालको भूभाग रही आएको भन्दै उनीहरुले सो भु भागमा अहिले पनि भारतीय सेना रहकोमा आपत्ति जनाएका थिए ।

यस विषयमा नेपाल सरकारले भने अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।