काठमाडौं, २ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई हत्या, हिंसा र चन्दा आतंकको बाटो परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन अपिल गरेको छ ।

शनिबार विज्ञप्ती जारी गर्दै काँग्रेसले सरकारलाई पनि वार्ताको पहल गर्न आग्रह गरेको छ । ‘नागरिक जीवनको सुरक्षा गर्नु राज्यको दायित्व हो तर त्यस नाममा संविधान विपरीत निषेधको मार्ग अख्तियार गरेर समाधानमा पुग्न सकिन्न, प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ, अतः वार्ताको माध्यमबाट दीर्घकालीन समाधान खोज्ने सक्षम शासकीय सुयोग्यता प्रस्तुत गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ ।’


आवेगमुक्त भएर संविधानभित्रैबाट विप्लवको पार्टीलाई विश्वासमा लिनपर्ने काँग्रेसको जोड छ । विस्फोट र चन्दा आतंकका घटना बढेपछि सरकारले विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएपछि त्यसबारे आधिकारिक धारणा प्रष्ट्याउन विज्ञप्ती जारी गरिएको काँग्रेसले जनाएको छ ।