३२ साउन, लमजुङ (बेसीशहर) । जिल्लामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी छोडेका केही नेताहरु मिलेर नयाँ पार्टी गठन गरेका छन् ।

उनीहरुले आज सदरमुकाम बेसीशहरमा पत्रकार सम्मेलन गरी फ्रिडम कम्युनिष्ट लिग नेपाल नामक पार्टी गठन भएको घोषणा गरेका हुन् ।

नयाँ पार्टी गठनसँगै तत्कालीन नेकपाका जिल्ला नेताहरुसहित भोजराज त्रिपाठी महासचिव रहेको १९ जनाको केन्द्रीय कमिटीसमेत बनेको छ ।

केन्द्रीय कमिटीमा लमजुङलगायत १२ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको बताइएको छ । मुलुकको अव्यवस्थालाई परिवर्तन गर्ने राजनीतिक आन्दोलन विप्लव नेतृत्वको नेकपाले नगरेको भन्दै नयाँ पार्टी गठन गरिएको नवगठित पार्टीका महासचिव त्रिपाठीले बताए ।

विप्लव पार्टीमा अराजनितिक कार्यशैली मौलाएको, व्यक्तिवादी संकीर्णता बढेको महासचिव त्रिपाठीको आरोप छ ।

कार्यक्रममा पार्टी प्रवक्ता सुजन अधिकारीले छिट्टै राष्ट्रिय भेलाको आयोजना गरी पार्टीका नीति तथा कार्यक्रम जनातासामू ल्याउने र जनताकै वलमा कार्य दिशाअघि बढाउने लक्ष्य लिएको बताए । रासस