२७ मंसिर, काठमाडौं । अनुशासनहीन गतिविधि गरेको भन्दै निलम्बनमा परेको ४ खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले जरिवाना र कारवाही गर्ने भएको छ । शुक्रबार बसेको एन्फाको अनुशासन समितको बैठकलले स्टार खेलाडी विमल घर्तीमगरसहित चारैजनालाई जरिवाना र कारवाही गर्ने टुङ्गो लगाएको हो ।

एन्फाले चार खेलाडीहरुलाई फरक–फरक कारावाही गरेको छ । संघले विमल घर्ती मगर र दिनेश राजवंशीलाई जनही ५०–५० हजार जरिवाना गर्दै फुटबल खेल्न ३ महिनाको प्रतिबन्ध लगाएको छ । यस्तै अर्का दुई खेलाडी अञ्जान विष्ट र सन्तोष तामाङलाई जनही ५०–५० हजार जरिवानासहित फुटबल खेल्न डेढ महिनाको प्रतिबन्ध लगाएको छ ।

उनीहरु गत केही साता अघि राति ठमेलको रात्री क्लबमा गएको र अनुशासनहीन काम गरेका थिए । उनीहरु मंसिर ३ गते कुवेतसँगको विश्वकप छनौट खेल्नको लागि भुटान जाँदै थिए । तर दिउँसो तीन बजे भुटान जाने भएपनि उनीहरुलाई भुटान खेल्न जान रोक लगाइएको थियो । भुटानमा भएको नेपाल र कुवेतबीचको खेलमा कुवेतले नेपाललाई १–० ले पराजित गरेको थियो ।