४ साउन, काठमाडौं । एसपीमा बढुवाका लागि सिफारिसमा परेका डिएसपी सञ्जिव शर्मा दासको सिफारिस रद्ध गरिएको छ । गृहमन्त्री जनार्दन शर्माले डिएसपी दासबारे सामाजिक सञ्जालमा जनस्तरबाट प्रश्न उठेपछि बढुवाको त्रुटी सच्याइएको बताएका छन् ।

उनले स्टाटस लेख्दै भनेका छन्, सामाजिक संजाल तथा संचार माध्यामले डिएसपी दासबारे उठाउनुभएको प्रश्नले बढुवा गर्दा भएको त्रुटीपूर्ण निर्णय सच्याउन मद्दत पुग्यो ।
दासलाई केही दिन अघि मात्र गृह मन्त्रालयको बढुवा समितिले प्रहरी उपरिक्षकमा वढुवा गर्न सिफारीस गरेको थियो । दासबारे अनुसन्धानका लागि निलम्बन गर्न आफूले निर्देशन दिएको समेत शर्माले जानकारी दिएका छन् ।

रामेछाप लिखु गाउँपालिका २ सैपुकी १४ बर्षीया सुन्तली तामाङ हत्याकाण्डको अभियुक्तलाई भगाउन भूमिका खेलेका रामेछापका तत्कालीन डिएसपी दासलाई विभागीय कारबाहीको सिफारिस गरेको भए पनि प्रहरी प्रधान कार्यालयले एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।

साढे पाँच बर्ष अघिदेखि फरार अभियुक्त श्याम राउतलाई रामेछापका प्रहरी प्रमुख डीसपी कुमोद ढुंगेलको सक्रियतामा एक महिनाअघि नेपाल भारतको सीमाबाट पक्राउ गरेको थियो ।