२९ साउन, काठमाडौं ।

विश्व बैंकले वित्तीय क्षेत्र सुधार कार्यक्रम र अवास पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न रु ३१ अर्ब सहुलियत ऋण उपलब्ध गराउन सहमत भएको छ ।

अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्मा र नेपालका लागि विश्व बैंकका निर्देशक जोहानेस जुटले सम्झौतामा हस्ताक्षर गरे ।

विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास निगम (आइडिए)ले उपलब्ध गराउने ऋणमध्ये रु १० करोड बजेटमार्फत खर्च गरिने उल्लेख गरिएको छ ।

world bank

अवास पुनःनिर्माण परियोजनाअन्तर्गत पहिलो चरणमा ५५ हजार घर पुनःनिर्माणका लागि उक्त रकम खर्च गरिनेछ । त्यसैगरी दोस्रो चरणमा विपद्को जोखिम गर्ने तयारीका कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ ।

कार्यक्रममा अर्थसचिव सुमनप्रसाद शर्माले भूकम्पपछिको पुनःनिर्माणका कार्यक्रमलाई तीब्र गतिमा अगाडि बढाइने विश्वास दिलाउँदै विश्व बैंकलगायतका दातृ निकायले निरन्तर सहयोग उपलब्ध गराउने विश्वास व्यक्त गरे ।

विश्व बैंकका निर्देशक जुटले भूकम्पछिको पुनःनिर्माणका लागि खडा गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकाले पुनःनिर्माणका कार्य अगाडि बढ्ने विश्वास व्यक्त गरे ।