top bahadur raymajhi९ भदौ, कपिलवस्तु । एकीकृत नेकपा (माओवादी)का नेता टोपबहादुर रायमाझीले मुलुकको निकास तथा नया संविधान निर्माणका लागि मङ्सिर ४ गतेको चुनावमा वैद्य समूह जानुको विकल्प नरहेको बताएका छन् ।

कपिलवस्तुको गजेहडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पूर्व शान्तिमन्त्रीसमेत रहेका रायमाझीले यसपटकको चुनावबाट वैद्य समूह भागेमा उसले राजनीतिक पार्टीको मान्यता नपाउने ठोकुवा गरे ।

भावी नेपालको संरचना कस्तो हुने भन्ने स्पष्ट खाका एनेकपा माओवादीसँग मात्रै भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टी भारी मतले विजयी हुने उनले दाबी गरे ।

एनेकपा (माओवादी)का अर्का नेता चन्द्रप्रकाश खनालले कार्यकर्ता तथा जनताको सहयोगमा आफूहरुले दुई तिहाई मत ल्याएर संविधान घोषणा गर्ने बताए ।

कार्यक्रममा एमाले क्षेत्रीय नेता केशव सिंह, काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि शिवदयाल त्रिपाठीलगायत २०० भन्दा बढी कार्यकर्ता एनेकपा (माओवादी) मा प्रवेश गरेका थिए ।

कार्यक्रममा विष्णुहरि शर्मा, इन्द्रमणि पौडेल, रामप्रसाद बन्जाडेलगायतले बोलेका थिए । कार्यक्रम जिल्ला इन्चार्ज रामलौटन तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस