२६ भदौ, काठमाडौं । राष्ट्रिय सभा सदस्य एवं नेकपाका नेता रामनारायण विडारीले उपभोक्ताहरु ठगिइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा बोल्दै विडारीले बजारमा बढेको ठगी र मिसावटबारे कडा व्यङ्ग्य गरे । ‘पानी खाउँ दुषित छ, खायो कि सिद्धिएला भन्ने डर छ । दूध खाउँ मिसावट छ । त्यो पनि खायो की अर्कोथरी रोग लाग्ला भन्ने पीर छ ।’ उनले भने, ‘औषधी खाउँ नक्कली बनाइदिएकाे छ । तरकारी फलफूल खाउँ विषाक्त छ । बजारमा पाइने खाने तेल प्रायः अशुद्ध छ । केही पनि सद्धे भेटिँदैन । किसिमकिसिमका बेइमानी छन् । ठाउँ-ठाउँमा एम्बुस छ । शरीर जोगाउन गाह्रो भो अध्यक्ष महोदय !’

उनले यस्ता विषक्त र मिसावटयुक्त खानेकुरा खाएर नागरिक जिर्ण शरीर लिएर धर्मराउँदै हिँडिरहेको भन्दै थपे, ‘यनले देश विकास के योगदान देलान् ?’ परिस्थितीजन्य प्रमाण पनि प्रस्तुत गर्ने भन्दै उनले भने, ‘मन्त्री, सचिव र ठूला पदमा बसेकाले आफ्ना छोराछोरीलाई बाबु तिमि बाहिर गएर नखाउ है विरामी होउला भन्ने गर्छन, अनि गरीव र श्रमिकका छोराछोरीलेक कहाँ गएर खाने ? उनले प्रश्न गरे, एउटा पसलमा ढुक्कसँग खान पाउने व्यवस्था कहिले आउँछ ?