१८ चैत, काठमाडौं ।

संसदको राज्य व्यवस्था समितिले संघीय प्रणालीमा प्रशासनिक पुनर्संरचना तथा जनशक्ति व्यवस्थापनका लागि उच्चस्तरिय समिति गठन गरी त्यसको सिफारिका आधारमा काम गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आज बसेको बैठकले विज्ञ सहितको उच्च स्तरिय अधिकार सम्पन्न समिति गठन गरी त्यसको प्रतिवेदन समितिमा छलफल गराएर परिमार्जन गरेपछि मात्र प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीपरिषद् र सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको हो ।

बैठकले स्थानीय तहलाई कार्यान्वयन गर्न तत्काल स्थानीय तहका सबै कर्मचारीलाई समेट्ने गरी आवश्यक पर्ने तालिम सञ्चालन गर्न नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलाई निर्देश्न दिएको छ ।

निजामती कर्मचारीलाई उपलब्ध गराउने वैदेशिक अध्ययन, तालिम लगायतका छात्रबृत्तिको संख्यालाई बढाउन पहल गर्ने र प्राप्त अवसर सबै सेवालाई र तीनै अंगका कर्मचारीलाई समान रुपमा उपलब्ध गराउन पनि समितिले सरकरालाई भनेको छ ।