१६ साउन, काठमाण्डौ ।
संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठक स्थगित भएको छ । संवाद समिति अन्तर्गतको विशेष समितिले काम नसकेकाले भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो ।

जनताबाट प्राप्त करिब ८ सय सुझावलाई ११ वटा बुँदामा झारिए पनि काम नसकिएकाले बैठक भोलि ४ बजेसम्मका लागि स्थगित गरिएको संवाद समिति सभापति एवं विशेष समिति संयोजक बाबुराम भट्टराईले जानकारी दिए ।

rajtinik sambad samiti

आज दिउँसोसम्म प्रस्ताव तयार पार्न जिम्मा पाएको प्रमुख दलका शीर्ष नेता सम्मिलित विशेष समिति पनि समयमै काम सक्न असफल भएको छ । विशेष समितिको बैठक पनि भोलि बिहान ८ बजेसम्मका लागि सरेको संयोजक भट्टराईले जानकारी दिए ।

समितिमा प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइराला, नेकपा एमालेका अध्यक्ष केपी ओली, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजय गच्छदार सदस्य छन् ।