काठमाडौं, ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तब्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता गर्न माग गरेको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमबार एक विज्ञप्ती जारी गर्दै संविधान विरोधी विधेयक तत्काल फिर्ता गर्न माग गरेका हुन् । ‘‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’’ को दफा ६ को उपदफा (३) मा ‘‘तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकार समक्ष सिफारिस गर्न सक्नेछ ।’’ भन्ने प्रावधान राखिएको छ । खाणले विज्ञप्तीमा भनेका छन्, उक्त व्यवस्थाले नेपालको संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको देखिन्छ ।’’

नेपालको संविधानको धारा २६७ को उपधारा (६) मा ‘‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विश्रृंखलताको कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषदको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदको निर्णय बमोजिम राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुनेछ ।’’ भन्ने उल्लेख गरिएको छ ।

विज्ञप्तीमा संविधान अननुकुल हुनेगरी विधेयक ल्याउन पनि काँग्रेसले सरकारलाई आग्रह गरेको छ ।