१९ भदौ, भक्तपुर ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान जारी गर्ने मिति पर सारेर देशमा उभद्रो मच्चाउने षड्यन्त्र भइरहेको बताएका छन ।

आज बालकोटमा वास्तुटोल सुधार समितिको पाँचौ साधारणसभा तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा उनले संविधान बनाउने मिति आठ वर्ष पर सार्दा पनि संविधान नबनेकाले अब पर नसारी संविधान जारी गर्ने बताए ।

अध्यक्ष ओलीले भने, “अहिले पनि संविधान जारी गर्न नदिन केही व्यक्तिहरु खिचडी पकाइरहेका छन्, अब संविधान पर सर्दैन भदौ महिनाभित्रै संविधान जारी हुन्छ ।”

KP Oli making remarks

देशमा फाटो ल्याएर भाषा, जातजाति, लिङ्गको नाममा देशलाई चिराचिरा पार्ने षड्यन्त्र भइरहेको बताउँदै ओलीले भने, “संविधान मात्रै बनाउने होइन की देशको एकताको निम्ति, जनताको हक, अधिकार सुनिश्चिताका लागि, देशलाई चिराचिरा हुनबाट जोगाउन, जनतामा कलहको बीउ नरोपी राष्ट्रिय एकताका लागि लागिरहेका छौ ।”

कार्यक्रममा उद्योग मन्त्री महेश बस्नेतले भदौ महिनाभित्र संविधान जारी हुने दाबी गर्दै हिंसात्मक आन्दोलन समाप्त पार्नु अहिलको आवश्यकता भएको बताए ।

कार्यक्रममा बालकोटका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । रासस