काठमाडौं ।
बुधबार राति नेपालको संविधानसभाले नेपालको संविधान- २०७२ पारित गरेको छ । असोज ३ गते संविधान जारी भएपछि नेपालले नयाँ संविधान पाउने छ । त्यसका लागि सरकारले २ दिनको विदाको समेत घोषणा गरेको छ । बुधबार राति नेपालको संविधान पारित भएपछि नेताहरुले संविधानसभा भित्रै र बाहिर ताली बजाएर, टेवल ठटाएर मात्र होइन हुटिङ गर्दै उत्साह प्रदर्शन गरे ।

संविधानसभाले संविधान पारित गरेपछि उत्साहित देखिनेमा एमाओवादीका अध्यक्ष प्रचण्ड सबैभन्दा अगाडी देखिए । उनी उठेर हात हल्लाएपछि संविधानसभामा नयाँ तरंग आएको थियो ।

Sambidhan parit 1

संविधानसभाले संविधान जारी गर्ने दिन नजिकिँदै गर्दा संविधान बनाउन मरिमेटेका सबै नेता भने खुसी छैनन् । संविधानसभाको राजनीतिक संवाद समितिका सभापति रहेका डा बाबुराम भट्टराई संविधान पारित हुँदा खासै खुसी देखिएनन् । उनी त्यसपछिको फोटो सेसनमा समेत छुटेका छन् । राष्ट्रपति यस अघि देखि नै यो प्रक्रिया देखि बेखुसी छन् भने कांग्रेसका युवा नेता गगन थापाले पनि वार्ता नगरी संविधान पारित गरेको भन्दै स्ट्याटस मात्र लेखेनन् संविधान पारित भएपछि एक राष्ट्रिय दैनिकमा संविधान पारित हुँदा उत्साह मात्र नभएर निराशा पनि थपिएको उल्लेख गरे ।

को को खुसी को को बेखुसी ?

खुसी हुनेहरुः

१ केपी ओली
यो संविधान जारी हुँदा सबैभन्दा खुसी हुनेमा एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष प्रचण्ड तथा कांग्रेस बरिष्ठ नेता शेर बहादुर देउवा देखिएका छन् । उत्साहित भएका ओलीले आगामी ५ असोजका दिन दशरथ रंगशालामा सर्वसाधारणका लागि चियापानको घोषणा समेत गरेका छन् । संविधान पारित भएपछि बाहिर निस्किएर उनले अव देश समृद्ध बन्ने उद्घोष समेत गरे । ओली खुसी हुनुको मुख्यकारण आफू बलियो रहेको अवस्थामा एमाओवादी सहितलाई समझदारीमा ल्याएर संविधान जारी गर्नु र अव प्रधानमन्त्री बन्नका लागि सुनिश्चित हुनु हो ।

Sambidhan parit

२ प्रचण्ड
संविधान पारित भएपछि प्रचण्डले संविधानलाई धर्मशास्त्र जस्तो परिवर्तन नै गर्न नमिल्ने भनेर नबुझ्न आग्रह गरे । उनले भनेको भनाइबाट उनी आफू खुसी भएपनि अरु धेरै बेखुसी छन् भन्ने ज्ञान उनलाई रहेको देखिन्छ । संविधानसभाले संविधान पारित गरेपछि संविधासभाबाट बाहिर निस्कने क्रममा प्रचण्डले सबै नेपालीलाई बधाइ दिए तर उनले थपे – कसैको हार र कसैको जीत होइन, असहमति जहाँ पनि हुन्छन् । प्रचण्ड खुसी नभएपनि देखाउनु पर्ने उनको बाध्यता यो प्रक्रिया पुरा गरेर श्रेय लिनु हो । गिरिजासँग शान्ति सम्झौतामा हस्ताक्षर गरेका प्रचण्ड यो प्रक्रियाका शुत्राधार पनि भएका कारण देशमा संविधानसभाबाट संविधान जारी गर्नु ठूलो उपलब्धिकोरुपमा उनले लिएका छन् । भलै तात्कालीन राजनीतिमा उनको स्थान स्पष्ट हुन बाँकी छ ।

३ शेर बहादुर देउवा
संविधान जसरी पनि जारी गर्नु पर्ने भने लागेका मध्ये कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवा पनि हुन् ।

Sher b Deuba talks Media

उनी पनि संविधान पारित भएपछि खुसी हुनेमा दरिए । संक्रमणकालको अन्त्यपछि पार्टी सभापति सुशील कोइराला प्रधानमन्त्री बाट हट्ने र एमालेले निहुँ खोज्दा बैकल्पिक प्रधानमन्त्रीकोरुपमा रहेका कारण पनि देउवाले यो प्रक्रिया छिटो अन्त्य होस भन्ने चाहेका थिए । उनी खुसी हुनुको अर्को कारण सुशीललाई कमजोर पार्दै विस्थापित गरेर पार्टी नेतृत्व लिने योजनाले सार्थकता पाउने सम्भावना देखेर पनि हो ।

४ सुशील कोइराला
प्रधानमन्त्री सुशील कोइराला प्रक्रिया स्थगित गरेर वार्ता गर्ने पक्षमा थिए । तर पनि संविधानसभाबाट संविधान जारी हुँदा उनी खुसी नै छन् । तत्काल संविधान जारी गर्दा एउटा पक्ष रिसाउने र पद खुस्केपछि पार्टीमा समेत कमजोर भइने उनको चिन्ताका बाबजुद पनि संविधान जारी गरेको श्रेय लिनका लागि उनले सबै कुरा त्याग गर्न तयार भए ।

PM Sushil Koirala muskan

उनी पनि संविधान जारी हुँदा खुसी हुनेको सूचीमा परेका छन् तर पनि उनको मनमा रहेको द्धिविदा भने अन्तिम समय सम्म स्पष्ट देखिएको थियो । संविधान जारी गरेपछि कमजोर बन्ने निश्चित भएपनि राष्ट्रपति पद पाउने आशा उनमा देखिन्छ ।

को को बेखुसी ?

१ रामबरण यादव
संविधान पारित हुँदा सबैभन्दा बेखुसी हुनेमा राष्ट्रपति रामबरण यादव परेका छन् । उनले यो प्रक्रिया रोक्नका लागि गरेका हरेक प्रयास असफल भए र आफ्ना सुझाव समेत नसमेटेर संविधान जारी भएपछि रामबरण यादवलाई नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छो बाउको अनुहार भन्ने उखानको अवस्था पैदा भएको छ ।

rastrapati savamukh

भारतको विश्वासपात्रको रुपमा चिनिएका राष्ट्रपति यादवले मधेसी समुदायलाई चिढ्याएको संविधानमा हस्ताक्षर गर्नु पर्ने बाध्यता आइलागेको छ भने यही संविधानले उनको पदपनि तत्काल खाइदिने छ । राष्ट्रपतिको सदभाव सबैले स्वीकार गर्ने संविधान आओस् भन्ने पनि हो तर त्यो सम्भव थिएन र भएन ।

२ बाबुराम भट्टराई

बाबुराम भट्टरलाई संविधानसभाबाट संविधान जारी गर्नका लागि सबैभन्दा बढि खटिएका नेता हुन् । तर एउटा संविधानसभा विघटन भएर दोश्रो संविधानसभाबाट संविधान पारित हुने स्थिति आउँदासम्म बाबुराम निराश देखिएका छन् । संविधान जारी हुने समयमा देशका विभिन्न भागमा देखिएका असन्तुष्टीलाइ सम्बोधन गर्नु पर्ने उनको मागलाई आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले नसुनेपछि उनी निराश बनेको बुझिएको छ ।

Baburam Bhattarai CA

सँधै राजनीतिक सहमतिका जानकारी र अन्य कुराहरुमा उत्साहजनक फेसबुक स्ट्याटस राख्ने एमाओवादी बाबुराम भट्टराईले संविधानसभाबाट संविधान पारित भएपछि भने कुनै उत्साह देखाएनन् । संविधानसभाबाट संविधान पारित भएपछि प्रचण्ड लगायतका नेता उत्साहित भएर बाहिर निस्किए र बोले तर बाबुरामले भने कुनै उत्साहजनक प्रतिक्रिया नै दिएनन् । संविधानसभाको राजनीतिक संवाद तथा सहमति समितिका सभापति भएपनि उनी संविधान पारित हुने समयमा भने ओझेलमा परेको र उनमा निराशा पैदा जस्तो देखिएको छ ।

किन लेखेनन् बाबुरामले खुसीको स्ट्याटस

मधेश र थारुका माग सम्बोधन गरेर अघि बढ्नु पर्ने उनको सदभावलाई नेताहरुलाई बाइपास गरिदिएपछि बाबुराम निराश बनेका हुन् । सर्व स्वीकार्य बनोस् भन्ने सदभावका बाहेक यो संविधान आएकोमा बेखुसी हुने बाबुरामको अर्को कारण भने छैन । तर कतिपयले उनको नयाँ शक्तिको बहस नयाँ संविधानले अन्त्य गरिदिने भविष्यवाणी गरेका छन् ।

३ नारायणकाजी श्रेष्ठ

माओवादी शान्ति प्रक्रियामा आएपछि भएका सबैजसो वार्ता र सहमतिमा प्रमुख भूमिका खेल्ने मध्येका एमाओवादी उपाध्यक्ष नारायणकाजी पनि बाबुराम जस्तै पार्टीले हिँजो साथ लिएका शक्तिलाई निराश बनाएर संविधान आएकोमा बेखुसी देखिएका छन् ।

Narayan-k-Shrestha hand

केही समय प्रक्रिया स्थगित गरेर भएपनि सबैलाई साथमा लिएर संविधान जारी गर्नु पर्ने उनको भनाइ बाबुरामसँगै मिल्दो जुल्दो देखिएको छ । संविधान जारी हुँदा विरोध गर्नु पर्ने कारण नभएपनि पार्टीको प्रमुखतामा जारी हुन लागेको संविधान पारित हुँदा बेखुसी बनेका नेता मध्ये नारायणकाजी पनि देखिएका छन् ।

४ गगन थापा
नेपाली कांग्रेसका युवा नेता र बाबुराम भट्टराईका धेरै लाइन संविधान जारी गर्ने समयसम्म आइपुग्दा मिलेको देखिन्छ । उनीहरुले प्रत्यक्ष कार्यकारीको पक्षमा सक्ने जति वकालत गरेर अन्त्यमा विभिन्न भागमा भैरहेका आन्दोलन र असन्तुष्टीलाई सम्बोधन नगरी संविधान पारित गर्ने पक्रिया शुरु गर्न नहुने अडान लिए ।

Gagan Thapa speech

गगन थापाले संविधान पारित भएको एक दिनपछि विहीबार चर्चित राष्ट्रिय दैनिकमा लेख लेखेर संविधान जारी गर्ने समय सम्म आइपुग्दा पार्टीले उपलब्धी मात्र हासिल नगरेको बरु कैयौं कुरामा चुकेको पनि उल्लेख गरेका छन् । नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले अधिकाँश सहमति जुटाउन पहल नगरी संविधान जारी गर्न हतार गरेकोमा उनको असन्तुष्टी देखिएको छ ।

खुसी हुने र बेखुसी देखिने नेताहरुको यो बाँडफाँडमा एमालेका नेता झनलाथ खनाल, माधव नेपाल, कांग्रेसका रामचन्द्र पौडेल लगायतका नेताहरु भने न उत्साहित न निराश जस्ता देखिएका छन् । अहिलेको प्रक्रियामा आफ्नो देखिने भूमिका स्थापित गर्न नसकेका कारण यी नेताहरुमा यस प्रकारको तटस्थता देखिएको विश्लेषकहरुको बुझाइ छ ।

असन्तुष्टीको आगोमा मधेश

प्रमुख सत्तारुढ दल कांग्रेस र एमालेले संविधान आएकोमा दीपावली गर्न आह्वान गरिरहेको समयमा आन्दोलनरत मधेस केन्द्रित दलले भने असोज तीनलाई कालो दिन घोषणा गरेका छन् ।

madhesi dal ka neta

एक महिनाभन्दा बढी समयदेखि पूर्व र मध्य तराइको आन्दोलन जारी रहेकै बेला संबिधानसभाबाट संबिधान जारी हुने निश्चित भएपछि मधेस केन्द्रीत दलले थप आन्दोलन समेत घोषणा गरेका छन् । मधेशी दलहरुले ३ गते कालो दिन घोषणा गर्दै १ घण्टा ब्ल्याक आउट गर्ने र ४ गते वृहत प्रदर्शन गरेर काठमाडौंलाई चुनौती दिने समेत तयारी गरेका छन् । मधेशी मोर्चाले भन्सार र राजमार्ग केन्द्रित आन्दोलन गरेर काठमाडौंलाई नाकाबन्दी गर्ने चेतावनी समेत दिएको छ ।