२१ फागुन, रामेछाप।
गृहमन्त्री एवं एमाओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले संविधानको कार्यान्वयन आजको आवश्यकता रहेको बताएका छन् । अहिले संविधान प्रति असन्तुष्टि जनाएर कोही सडक र संघर्षमा जानु पर्ने वा हतियार उठाउनु पर्ने अवस्था नरहेको उनले बताए ।

फाइल तस्बिर

फाइल तस्बिर

योङ कम्युनिष्ट लिग रामेछापको तेश्रो अधिवेशन तथा अखिल क्रान्तिकारीको १६ औँ सम्मेलनको शुक्रबार उद्घाटनसत्रलाई सम्वोधन गर्दै गृहमन्त्री बस्नेतले संविधानको व्यवहारिक कार्यान्वयन भए समून्नत राष्ट्र बनाउन सकिने बताए ।

गृहमन्त्री बस्नेतले जनतामा अन्तरनिहित सार्वभौम सत्ता र भौगोलिक अखण्डता बाहेक बाँकी सबै विषय संविधानमा परिवर्तन गर्न सकिने भएकाले यो नै विश्वको उत्कृष्ट संविधान भएको दावी गरे ।

संविधान छुटेका कुराहरु सुधार गर्दै जान पाउनुनै नेपालको संविधानको सुन्दर पक्ष भएको बस्नेतले बताए । उनले संविधानले हिमाल, पहाड र तराई सबै भुमिमा बस्ने नागरिकको भावना समेटेको बताउँदै गाँस, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगारीको जिम्मा संविधान मार्फत राज्यले लिएको बताए ।

कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले समून्नत नेपाल निर्माणमा युवाको भुमिका महत्वपूर्ण हुने पनि बताए । जनताका प्रतिनिधिबाट संविधानको बनाएर देशले ठुलो परिवर्तनको प्रक्रिया पार गरेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै पूर्व शान्ति मन्त्री सत्या पहाडीले संविधानमा नलेखिएका कुरा समावेश गर्न र लेखिएका कुरा लागु गर्न सबै नेपालीले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा वाइसीएल अध्यक्ष आरसी शर्माले युवाशक्ति देशबाट पलायन हुने र भएका पनि बेरोजगार हुनु दुःख भएको बताए।

उनले युवालाई रोगारीको ग्यारेन्टि राज्यले गर्नु पर्नेमा जोड दिए । अखिल क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष नरेन्द्र न्यौपानेले नेपालको परिवर्तनको आन्दोलनमा भएको विद्यार्थीको योगदानलाई कसैले विर्सन नहुने बताए ।

गणतन्त्र स्थापना पछि पनि शिक्षा क्षेत्रमा भने परिवर्तन आउन नसकेकोमा उनले गुनासो गरे । निशुल्क शिक्षा व्यवहारमा नआएको उनको गुनासो थियो । कार्यक्रममा सभाषद श्यामकुमार श्रेष्ठ लगायतका एमाओवादीका नेताहरुले पनि बोलेका थिए ।