१६ फागुन, रुकुम।

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने दाबी गरेका छन् । संविधान संशोधन गरेर मधेस केन्द्रीत दलले उठाएका मागलाई सम्बोधन नगरेसम्म कुनै पनि निर्वाचन हुन नसक्ने उनको भनाई छ ।पार्टी प्रशिक्षणका लागि रुकुम पुगेका भट्टराईले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अहिलेको सरकारले आफ्नो आयु लम्ब्याउनका लागि मात्र निर्वाचनको मिति घोषणा गरेको आरोप लगाए । अहिलेको संविधानमा सबैको हित हुने व्यवस्था नभएकाले नै तत्काल संविधान संशोधन गरेरमात्र देशलाई निकास दिनुपर्ने भट्टराईको भनाई छ ।

अहिलेको शासकीय स्वरुप नै ठीक नभएको भन्दै भट्टराईले संविधान संशोधनमार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपतिका लागि निर्वाचन प्रक्रियामा जानुपर्ने बताए । शासकीय स्वरुप ठीक नभएकै कारण देशको आर्थिक र राजनीतिक विकास पनि तीव्र गतिमा हुन नसक्ने उनको भनाइ थियो ।

नयाँ शक्ति पार्टी नेपाल र सङ्घीय समाजवादी फोरमबीचको एकताको सन्दर्भमा भने गम्भीर छलफल भइरहेको र अब छिट्टै टुङ्गोमा पुग्ने उनले बताए ।