२३ पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकमाथि आफ्नो पार्टीले संशोधन हाल्ने बताएका छन ।

आज रिपोटर्स क्लब नेपालको ज्ञापनपत्र बुझ्दै अध्यक्ष गच्छदारले सरकारले अघि सारेको संशोधन विधेयक अधुरो र अपूरो रहेकाले प्रस्तावलाई परिमार्जन नगरे मुलुकको समस्या समाधान नहुने जिकिर गरे ।

Bijay-Gachhadar talking

सात प्रदेशले मुलुकको समस्याको समाधान नगर्ने भन्दै उनले आफ्नो पार्टीले विगतदेखि भन्दै आएको ८ प्रदेश निर्माणले नै समस्याको समाधान गर्ने भनाइ राखे । उनले अहिले दर्ता गरिएको सीमाङ्कन संशोधन प्रस्तावले थारुको माग सम्बोधन नगरेको बताए ।

आफू र आफ्नो पार्टी कुनै पनि अतिवादका पक्षमा नलागी मुलुकको निकासका लागि जहिले पनि मध्यमार्गी भूमिका निर्वाह गर्दै आएको उनले टिप्पणी गरे । प्रमुख दलबीच सहमति, सहकार्य र एकताको अहिले पनि उत्तिकै खाँचो रहेकामा उनले जोड दिए । रासस