२८ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाम गठन्धनका कारण अरु दललाई नझस्किन आग्रह गरेका छन् ।

संसदको चार वर्षे कार्यकालको अन्तिम दिन आज संसद बैठकमा पार्टीगत धारणा राख्दै उनले वाम तालमेल चुनावी प्रयोजनका लागि मात्रै रहेको भन्दै नतर्सन आग्रह गरे । प्रधानमन्त्रीलाई पनि आफूले यस विषयमा जानकारी गराएको भन्दै दाहालले गलत नबुझ्न आग्रह गरे ।

दाहालले वाम तालमेल सरकार ढाल्ने र सरकारविरुद्धको नभएको बताए । दाहालले वाम तालमेल लोकतान्त्रिक अभ्यास र वैचारिक आदर्श बढाउने प्रयासमात्रै भएको दाबी गरे ।

उनले कांग्रेससँगको सम्बन्धलाई समुचित ढंगले अगाडि बढाइने जनाए । दाहालले आफू चार वर्षे दौरानमा कहिले कांग्रेस र कहिले एमालेतिर ढल्किए पनि समृद्धिका लागि काम गरेको जिकिर गरे । एकपटक संविधान संशोधन असफल भए पनि दुई तिहाईले अर्कोपटक संशोधन गरेरै छाड्ने दाहालको भनाइ छ ।