४ जेठ, काठमाडौं ।

संसद बैठकको अधिवेशन आजदेखि अन्त्य भएको छ । सभामुख ओनसरी घर्तीले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएपछि आजै राती १२ बजेदेखि अन्त्य हुने जानकारी गराएकी हुन् ।

२०७३ साल बैशाख २१ गतेदेखि शुरु भएको संसदको दोस्रो अधिवेशनमा ३ सय ८१ दिनको अवधिमा १३८ वटा बैठक बसेका थिए । यो अवधिमा ४६ वटा विधेयक संसदमा पेश भएकोमा १४ वटा विधेयकलाई छलफलका लागि सम्बन्धित समितिमा पठाइएको र १७ वटा विधेयक बैठकले पारित गरेको जानकारी दिइन ।

सभामुख ओनसरी घर्तीले अधिवेशन अवधिभर कुन सांसद कति वटा बैठकमा उपस्थित भएको थियो भन्ने जानकारी पनि बैठकलाई गराएकी थिइन ।

त्यस्तै संसद बैठकले सफलता पूर्वक स्थानीय तहको पहिलो चरणको निर्वाचन गराएकोमा सरकार, निर्वाचन आयोग र मतदातालाई धन्यवाद दिएको छ । संसदले जेठ ३१ गते हुने दोस्रो चरणको चुनावको वातावरण बनाउन सरकार लगायत सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

संसदको बजेट अधिवेशन यही जेठ ८ गते बोलाउने सरकारको तयारी छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आब्हान गर्ने प्राब्धान छ । त्यही अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजिनामा दिने तयारी गरेका छन् ।