काठमाडौँ, २ चैत (रासस) : मानवसेवा आश्रम काठमाडौँले सिनामङ्गलस्थित सडक पेटीबाट एक असहाय वृद्धको उद्धार गरेको छ ।

खुकुलाल महर्जन नाम बताउने अन्दाजी ८० वर्षीय वृद्धलाई गए राति १२ बजे उद्धार गरिएको र अहिले उहाँलाई सामाखुशीस्थित आश्रममा राखिएको छ । कसैले केही दिए खाने नत्र भोकै बस्नुपर्ने बाध्यताका बीच सडक जीवन बिताउँदै आएका महर्जनले दाइले घर बेचेर गाउँ गएपछि आफू सडकमा बस्दै आएको बताए ।

मनमैँजु निवासी मुना राइले कार्यालय आउजाउ गर्दा वृद्ध व्यक्ति सडकपेटीमा सुतिरहेको देखेपछि आश्रमलाई खबर गर्नुभएको थियो । त्यसपछि आश्रमको टोली उद्धारमा गएको हो । कुकुरसँगै सुतिरहेको अवस्थामा उहाँलाई गए राति फेला पारिएको आश्रमका काठमाडौँ संयोजक सुमन बर्तौलाले जानकारी दिए । स्थानीयका अनुसार विगत १० वर्षदेखि उनी त्यही ठाउँमा बस्दै आएका थिए ।

परिवार पत्ता लगाएर उनलाई पुनःस्थापन गर्न प्रयास गरिने आश्रमकी अभियन्ता सन्तोषी मगरले बताइन् । आश्रमले विसं २०६९ देखिनै सडकबाट उद्धार गरेर संरक्षण गर्दै अनि परिवार पत्ता लगाएर पुनर्मिलन गराउँदै आएको छ । हालसम्म ५०० भन्दा बढीलाई यसरी उद्धार गरेर परिवारमा मिलन गराइसकेको जनाइएको छ ।

आश्रमले देशका विभिन्न १४ स्थानमा शाखा कार्यालय खोलेर सडकमा पुगेका असहाय तथा मनोरोगीको उद्धार गर्दै आएको र विसं २०८२ सम्म सडकमा कष्टकर अवस्थामा असहाय नरहने अवस्था निर्माणका लागि भन्दै अभियान सञ्चालन गरेको छ ।