१८ चैत, काठमाडौं ।
सत्तारुढ दलकै शिर्ष नेता बैठकमा अनुपस्थित भएपछि सरकार र मधेसी मोर्चाबीचको बैठक विना निष्कर्ष टुंगिएको छ । नेपाली कांग्र्रेस, माओवादी केन्द्र, राप्रपा र मधेसी मोर्चाबीच बालुवाटारमा भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापा अनुपस्थित रहे । तर सिमांकनको विषयलाई पछि टुंग्याउने गरी बाँकी विषयमा संविधान संसोधन गर्न दलहरु सहमति नजिक पुगेको नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालका अनुसार दलका शिर्ष नेताहरुसँग प्रधानमन्त्रीले छलफल गरेर संविधान संसोधनको तयार गर्न भनिएको छ ।

तर बैठकपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आजको बैठकमा सहमति भएर स्थानीय तहको चुनावमा लाग्ने गरी बैठकमा उपस्थित भएपनि त्यस्तो नभएको प्रतिकृया दिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्डले यसअघि नै प्रस्तुत गरेको संविधान संशोधनमा सिमाकंनको विषय पछि टुंगो लगाउने गरी अन्य विषयमा सहमति जुटाएर स्थानीय तहको निर्वाचनमा जुट्ने प्रस्तावलाई पुन पेश प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्रीले पस्तुत गरेको प्रस्तावमा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले सरकारी कामकाजको भाषा भनी निर्णय गरेका भाषाहरूलाई संविधानमा अनुसूची थप गरी समावेश गर्ने, राष्ट्रिय सभाको निर्वाचक मण्डलवाट गाउँ र नगरपालिकाका अध्यक्ष र उपाध्यक्षलाई नराख्ने उल्लेख छ ।

त्यस्तै सिमांकनका लागि संघीय आयोग गठन गर्ने, स्थानीय तहको सख्या जनसंख्याको अनुपातमा निर्धारण गरिने, संघीय संरचना र सीमाङ्कनको विषय संघ र प्रदेशको निर्वाचन अघि नै टुङ्ग्याउने तथा संघीय गठबन्धन र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका बाँकी मुद्दाहरूका सन्दर्भमा राजनीतिक सहमतिको आधारमा गर्ने प्रस्ताव राखेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्रीद्वय कृष्णबहादुर महरा र विमलेन्द्र निधि, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, प्रकाशमान शिंह, माओवादी केन्द्रका नेताहरु वर्षमान पुन, मातृका यादव, पंफा भुषाल, चन्द्रप्रकाश खनाल, राप्रपा नेता दीपक बोहरा, मधेशी मोर्चाका नेताहरु उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महत्तो, अनिल झा, शरदशिंह भण्डारी, राजेन्द्र श्रेष्ठ लगायत सहभागी थिए ।