१३ माघ, दमौली।
नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको तेह्रौँ महाधिवेशनमा पार्टी सभापतिका लागि उम्मेदवारी दिन यसपालि आफूले कुनै पनि हालतमा खुट्टा नकमाउने बताएका छन् ।

रिपोटर्स क्लब नेपाल तनहुँद्वारा आज दमौलीमा आयोजित साक्षात्कारमा नेकाँ उपसभापति पौडेलले यसपटकको महाधिवेशनमा कुनै शक्तिले पनि आफूलाई पार्टी सभापति हुनबाट रोक्न नसक्ने दाबीसमेत गरे ।

पार्टीभित्रका समकालीन नेताहरुले समेत सभापतिमा आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गर्दै नेता पौडेलले आफूभन्दा अटल र लक्ष्यमा अडिग हुने अन्य नेता काँग्रेसमा नभएको दाबीसमेत गरे । ‘‘काँग्रेसभित्र देखिएको स्थायी गुटको अन्त्य गर्न पनि पार्टीभित्रको नेतृत्व मैले लिन आवश्यक छ’’ उनले भने । अबको महाधिवेशनमा सङ्घीय संरचनाअन्तर्गत पद सिर्जना गरिने उपसभापति पौडेलले जानकारी दिए ।

संविधान बनाउँदा पनि काँग्रेसकै नेतृत्वमा बनेको र यसको कार्यान्वयन प्रक्रिया पनि काँग्रेसले नै अगाडि बढाउने धारणा उनले राखे । मधेसी मोर्चाका अधिकांश माग समेटिएकाले अब उनीहरुले आन्दोलन फिर्ता लिनुपर्ने बताउँदै नेता पौडेलले भारतीय नाकाबन्दीसमेत छिट्टै खुल्नेछ भने । रासस