४ भदौ, काठमाडौं ।

काठमाडौंको बुढानिलकण्ठ निर्वाचन कार्यालयका कर्मचारीको मिलेमतोमा नेकपा एमालेका नगर अध्यक्षको घरमा बसेर मतदाता नामावली संकलन गरिएको विरोधमा बुढानीलकण्ठ नगरपालिकामा एमाले बाहेकका सबै पार्टीहरुले विरोध प्रदर्शन गरेका छन् ।

गोल्फुटारमा रहेको नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेर प्रदर्शन गर्दा प्रहरी र उनीहरुबीच झडप समेत भएको छ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौंले नामावली संकलनका लागि खटाएका आकृत खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका अध्यक्ष दिपक निरौलालाई पक्राउ गरी महारजगञ्जस्थित प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले निरौला र खत्रीसँगै बुढानीलकण्ठ ९ का वडाध्यक्ष राजेन्द्र सापकोटालाई पनि पक्राउ गरेको छ ।

महाराजगञ्ज वृत्तले पनि कर्मचारी र एमाले नेतालाई मतदाता नामावली संकलन गर्ने सामग्री सहित नियन्त्रणमा लिएको पुष्टि गरेको छ । एमाले नेताले घरमै नियमविपरित मतदाता नामावली संकलन गरेको भन्दै कांग्रेस र माओवादी लगायतका दलले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

यसैबीच आज संसद बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेस सांसद गगन थापाले मतदाता नामावलीमा नाम लेखाउने समयअबधि सकिसकेको अवस्थामा नियोजित रुपमा आयोगका कर्मचारी, निर्वाचित जनप्रतिनिधी र एमाले नेताले षड्यन्त्र गरेको आरोप लगाए ।

मतदाता नामावली संकलन गर्ने समयावधी हिजो सम्म मात्र थियो । यसअघि साउन मसन्तासम्म मात्र रहेको नामावली संकलनको अवधि तीन दिन बढाएर भदौ ३ गतेसम्म निर्धारण गरिएको थियो ।