१४ फागुन, काठमाडौं । सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले सरकारले दिएको समर्थन ४८ घण्टा भित्र फिर्ता लिने बताएका छन् ।

रिपोर्टर्स क्लबले काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै नेता सुमनले भने,‘हामी २४ देखि ४८ घण्टाभित्रै सरकारलाई दिएको समर्थन कुनैपनि क्षण तोड्न सक्छौं, सरकारसँगको सम्बन्ध विच्छेद गर्छौं।’

यद्धपी उनले अहिले नै समर्थन फिर्ता लिएपनि ओली र देउवा मध्य एक जना नेतृत्वमा आउने भएकोले ती सबै टेष्टेड अनुहार भएको जिकिर गरे ।

यथास्थितिमा संविधान संशोधन प्रस्ताव पारित भएपनि मोर्चा चुनावमा सहभागी नहुने उनको दाबी थियो । उनले भने,‘संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्छ, अनिमात्रै मोर्चाले चुनावमा भाग लिन्छ, होइन भने यथास्थितिमा हामी चुनावमा भाग लिँदैनौ ।’

उनले संविधान संशोधन र निर्वाचनलाई सँगसँगै लैजानु भनेको चीची र पापाको लोभ देखाउनु सरह भएको टिप्पणी गरे। उनले ९ महिनापछि बल्ल बल्ल सरकारले संशोधन प्रस्ताव ल्याएको र देखाउनको लागि प्रस्तावमाथि सदनमा छलफल सुरु गरिएको आरोप लगाउँदै भने,‘अहिले दुई चार जना वक्ताहरुले संसदमा वक्तित्वकलामा भाग लिईरहेका छन्।’

उनले सरकारले चाह्यो भने एमालेविना नै दुई तिहाई पुग्ने समेत जिकिर गरे ।