२५ पुस, काठमाडौँ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले सहकारीको सही सदुपयोग हुन नसकेको बताएका छन्  ।

उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उनले सहकारीमर्फत प्रगति हासिल गर्न सकिने भएतापनि सहकारीको सही प्रयोग हुन नसकेकाले समस्या आएको बताए ।

ग्रामीण अर्थव्यवस्था विकासका लागि सहकारी नै उत्तम विकल्प भएको उनको भनाइ थियो ।

अहिले नाकाबन्दीका कारण जनताले सास्ती पाएको बताउँदै उनले केही समयभित्रै नाकाबन्दी हट्ने विश्वास व्यक्त गरे।

पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सहकारीमार्फत देश आत्मनिर्भरतामा जान सक्ने बताए। परनिर्भरता हटाउन सहकारी प्रमुख माध्यम बन्न सक्ने उनको भनाइ थियो ।

तीन खम्बे अर्थतन्त्रबाट नै देश आत्मनिर्भर बन्न सक्ने बताउँदै उनले सहकारीले अन्य क्षेत्रमा रचनात्मक काम गरेपनि कृषि क्षेत्रमा विशेष लगानी गर्न आवश्यक भएको बताए ।

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले पूँजीवाद र समाजवादकोे सम्मिश्रण नै सहकारी भएकाले सबैका लागि सहकारी उत्तम माध्यम भएको बताए ।

कार्यक्रममा साहित्यकार धु्रवप्रसाद सापकोटा, रत्न शमशेर, धु्रवचन्द गौतमलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

हाल संस्थाको सेयर पूँजी रु दुई करोड ५९ लाख ७६ हजार ३०० रहेको सो अवसरमा जानकारी दिइयो । संस्थाले रु १३ करोड ६३ लाखभन्दा बढी निक्षेप सङ्कलन गरेको जनाएको छ ।