१३ बैशाख, काठमाडौं । स्थानीय तहको संख्या थप्ने बिषयमा दलहरुबीच कुरा नमिलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ प्रस्ताव अघि सारेका छन् ।

संसद भवन सिंहदरबारमा बसेको प्रमुख चार दलको बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भनाभन भएपछि प्रचण्डले नयाँ प्रस्ताव अघि सारेका हुन् ।

बैठकमा देउवाले एमालेले चुनाव नचाहेको हो ? भन्ने प्रश्न गरेलगत्तै ओलीले ‘तपाइहरुले नचाहेको जस्तो देखियो, यदि साँच्चै चुनाव गर्ने हो भने संख्या बढाउने निर्णयबाट पछि हट्नुस्’ भनेका थिए ।

त्यसपछि प्रधानमन्त्री प्रचण्डले चितवनलाई छाडेर तराईका १९ वटै जिल्लामा एकै मापदण्डअनुसार स्थानीय तह थप्ने प्रस्ताव अघि सारेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।

तराईरमधेसका ११ जिल्लामा स्थानीय तहका लागि एउटा मापदण्ड र बाँकीमा अर्को मापदण्ड भनेर एमालेले चर्को विरोध गरेपछि प्रचण्डले यस्तो प्रस्ताव अघि सारेका हुन् । एमालेले भने स्थानीय तह पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई दायाँबायाँ गर्न नहुने भन्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।