२६ असार, काठमाडौं ।

नेकपा एमालेले सहमति विपरित संविधान संसोधनको विषय उठाइएको भन्दै आपत्ति जनाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थाई कमिटि बैठकले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मात्रै संविधान संशोधनको विषयमा छलफल गर्ने भनिए पनि सहमति विपरित सत्ता गठबन्धनले फेरी संविधान संशोधनको चर्चा चलाएको भन्दै आपत्ति जनाएको हो ।

प्रस्तावित संविधान संशोधनको प्रस्ताव राष्ट्रिय हीतविपरित र अनुचित रहेको पार्टीको अडानलाई पुनः दोहो¥याउँदै एमालेले उक्त प्रस्ताव पारित हुन नसक्ने बताएको छ ।

यसैबीच दोस्रो चरणको निर्वाचनमा पनि एमाले पहिलो पार्टी हुन सफल भएकोमा पार्टीले सन्तोष व्यक्त गरेको छ । ‘सत्ता गठबन्धनद्वारा भएको राज्यशक्तिको चरम दुरुपयोग, हाम्रो पार्टीविरुद्धको चौतर्फी घेराबन्दी र अनेकौं प्रतिकुलताका बाबजुद नेकपा एमाले पहिलो शक्तिको रुपमा स्थापित हुन सकेकोमा पार्टी सन्तोष व्यक्त गर्दछ, पार्टी सचिव प्रदीप ज्ञवालीद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

निर्वाचनमा प्राप्त सफलता र कतिपय ठाउँहरुमा भएका अनपेक्षित परिणामको समग्र समीक्षा गर्दै १५ दिनभित्र प्रतिवेदन पार्टी केन्द्रमा पठाउन निर्वाचन सम्पन्न भएका प्रदेशहरुका सम्बन्धित जिल्ला कमिटीहरुलाई एमालेले निर्देशन दिएको छ ।