१२ जेठ, कावासोती।
सांसदहरुको एक टोलीले देशकै ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्टको स्थलगत निरीक्षण गरेका छन् ।

तीन वर्षमा उत्पादन बजारमा ल्याउने गरी काम गरिरहेको होङ्सी शिवम् सिमेन्टको उत्पादन क्षेत्रमा नवलपरासीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले स्थलगत निरीक्षण गरेका हुन ।hongsi cement factory 485720517

सांसदहरुले निरीक्षणको क्रममा स्थानीयवासीसँग अन्तरक्र्रियासमेत गरेको नवलपरासी क्षेत्र नं ३ का सांसद कृष्ण पौडेलले बताए ।

उद्योग स्थापनाबाट हुने फाइदाका बारेमा सरोकारवालालाई जानकारी दिन आवश्यक भएकाले उद्योगले जिल्लाका राजनीतिक दल सरकारी कार्यालयका प्रमुख र स्थानीयवासीसँग छलफल तथा भेटघाट गरेको होङ्सी शिवम् सिमेन्टका प्राविधिक शिवरत्न अटलले बताए ।

चिनियाँ कम्पनी होङ्सीको ७० प्रतिशत र नेपालको शिवम् सिमेन्टको ३० प्रतिशत (कुल रु ३६ अर्बको) लगानीमा नवलपरासीको वेणीमनीपुरको वडा नं १ र २ मा यो उद्योग स्थापना भएको हो ।

गाउँमा देशकै ठूलो सिमेन्ट उद्योग स्थापना हुँदा गाउँले खुसी भएको वेणीमनीपुरका कालीन्द्रबहादुर जिसीले बताए ।

उद्योग स्थापनाका बेला वेणीमनीपुर गाविससँग भएका सम्झौता कार्यान्वयन हुनुपर्नेमा सांसद कृष्ण पौडेल, जीवन श्रेष्ठ, वैजनाथ चौधरी, सांसद दुलारी हरिजनले जोड दिए ।

छलफलमा होङ्सीका तर्फबाट गुरुयोजना बारे जानकारी गराइएको थियो ।

पूर्व–पश्चिम राजमार्गको दुम्किवासदेखि १३ किलोमिटर उत्तरमा यो उद्योग पर्छ । यसको उत्पादनले नेपाली बजारको ३० प्रतिशत माग पूरा गर्ने दाबी उद्योगको छ । यो अहिलेसम्मकै ठूलो सिमेन्ट उद्योग हो ।

दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने यो उद्योगमा सुरुको वर्ष ६ हजार मेट्रिक टन मात्र उत्पादन हुन्छ । रासस