१९ माघ, इलाम।
इलामको दानाबारी र चिसापानी गाविसमा सञ्चालित सानिमा माई हाइड्रोपावरले क्यासकेट आयोजनाबाट सात मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ ।

हालै निर्माण सम्पन्न गरेर आयोजनाले विद्युत्को परीक्षण उत्पादन थालेको हो । परीक्षणका क्रममा देखापरेको त्रुटि सच्याएर राष्ट्रिय प्रसारण लाइनमा जोडिने प्रशासकीय अधिकृत वसन्त पौडेलले जानकारी दिए ।

नियमित उत्पादन भइरहेको कावेली करिडोरको गोदकस्थित सवस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ । गत असोजदेखि सानिमा माईले २२ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जडान गरिसकेको छ ।

विसं २०६७ मङ्सिरदेखि निर्माण सुरु गरिएको सानिमा माई जलविद्युत् आयोजना तोकिएकै समयमा सम्पन्न भएको जनाइएको छ ।

रु एक अर्ब २५ करोडको लागतमा सात मेगावाट क्षमताको क्यासकेट आयोजना सम्पन्न भएको प्रशासकीय अधिकृत पौडेलले बताए । रासस