१६ फागुन, भक्तपुर, । क्याम्पसमा भोलिदेखि सुरु हुने खेलकुद सप्ताह मनाउनेबारेमा दुईपक्षीय विद्यार्थीबीच विवाद बढेपछि झडप हुँदा सानोठिमी क्याम्पस तनाबग्रस्त बनेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन सानोठिमी क्याम्पसले भोलि १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गर्न लागेको सहिद सप्ताह खेलकुद २०६९ को विषयमा अखिल क्रान्तिकारी र नेविसङ्घ तथा अनेरास्ववियूबीच विवाद हुँदा भएको झडपका दुबै पक्षका एक दर्जनभन्दा बढी विद्यार्थी घाइते भएका छन् ।

खेलकुद सप्ताह स्ववियूले एकल आयोजना गर्ने अडान लिएको अखिल क्रान्तिकारी र क्याम्पस तथा विद्यार्थी सङ्गठनबीच संयुक्त रुपमा आयोजना गर्नुपर्ने नेविसङ्घ तथा अनेरास्वयियूको अडानका कारण आज बिहान भएको विवाद झडपमा परिणत भएको विद्यार्थी सङ्गठनहरुले बताएका छन् ।

अनेरास्ववियूका केन्द्रीय सदस्य सन्तोष खड्काले अहिले औतित्यहीन बनेको स्ववियूले खेलकुल सप्ताह गर्न नहुने र यसमा सबै विद्यार्थी सङ्गठनले संयुक्त रुपमा आयोजना गर्नुपर्ने अनेरास्ववियू तथा नेविसङ्घले माग राखेर छलफल गर्दा अचानक अखिल क्रान्तिकारीले आक्रमण गरी अनेरास्ववियू तथा नेविसङ्घका एक दर्जनभन्दा बढीलाई घाइते बनाएको बताउनुभयो ।

बिहान क्याम्पस पढिरहेका विद्यार्थीलाई समेत आस्थाका आधारमा क्रान्तिकारीले कक्षा कोठामै गएर आक्रमण समेत गरेको खड्काले आरोप लगाउनुभयो ।

छलफलकै क्रममा सुनियोजित रुपमा बसेको अखिल क्रान्तिकारीले निहत्था नेविसङ्घ तथा अनेरास्ववियूलाई लाठी, रडलगायतका हतियार प्रयोग गरी आक्रमण गरेर घाइते बनाएको नेविसङ्घका विकास थापाले बताउनुभयो ।

हतियारसहित आएका स्ववियू सभापति वीरेन्द्र बस्नेतसहितको टोलीले निहत्था नेविसङ्घ र अखिलका विद्यार्थी माथि आक्रमण गरी लखेटीलखेटी कुटेको आरोप लगाउँदै प्रहरी मूकदर्शक भएर बसेको थापाले आरोप लगाउनुभयो ।

अनेरास्ववियूका खड्का, नेविसङ्घका सतिश श्रेष्ठलगायतका घाइतेको नागरिक अस्पताल गठ्ठाघरमा उपचार भइरहेको थापाले बताउनुभयो ।

यता अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुवास ढकालले भने स्ववियूले गर्न लागेको खेलकुद सप्ताह भाड्ने उद्देश्यले नेविसङ्घ र अनेरास्ववियू आएका कारण दोहोरो झडप भएको बताउनुभयो ।

स्ववियूले दुवै पक्षबीच छलफल गरी सहमति गर्ने प्रयास गरी छलफलका लागि बोलाउँदा नेविसङ्घका सतिश श्रेष्ठले स्ववियू सभापति तथा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतलाई आक्रमण गरी घाइते बनाएपछि आफूहरुले प्रत्याक्रमण गरेको ढकालले दाबी गर्नुभयो ।

उहाँले दोहोरो झडपमा अखिल क्रान्तिकारीका एक दर्जन विद्यार्थी घाइते भएको भन्दै खेलकुद सप्ताह नरोकिने बताउनुभयो । ढकालले भन्नुभयो, “भोलिदेखि हुने खेलकुद सप्ताह रोकिँदैन, अवरोध गर्न खोजे हामी प्रत्याक्रमण गर्न र भिड्न तयार छौँ ।”

आज बिहानभरि नै सानोठिमी क्याम्पस तनाबग्रस्त बनेको छ भने क्याम्पस हातामा प्रहरी परिचालन गरिएको छ । रासस