४ मसिंर, काठमाडौ ।

ठूलो परिमाणमा लागुऔषधसहित पक्राउ परेका अभियुक्तलाई अदालतले सामान्य धरौटीमै छाड्न थालेको छ । काठमाडौं जिल्ला अदालतले लागुऔषध कारोबारीलाई सामान्य धरौटीमा छाड्न थालेपछि प्रहरी अधिकारीहरूले असन्तुष्टि जनाएका छन् । गत साउनयता काठमाडौं जिल्ला अदालतले ठूलो मात्रामा चरेससहित पक्राउ परेका एक दर्जन अभियुक्तलाई धरौटीमा छाड्ने आदेश दिएको छ ।

lagu

यसअघि लागुऔषध मुद्दामा पक्राउ परेकाहरू पुर्पक्षका लागि थुनामा राख्ने आदेश हुने गरेको थियो । पाँच किलो पाँच सय ४४ ग्राम चरेससहित पक्राउ परेका एक अभियुक्तलाई काठमाडौं जिल्ला अदालतले गत २६ असोजमा ५५ हजार रुपैयाँ धरौटीमै छाड्ने आदेश दिएको थियो । जिल्ला अदालतका न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको इजलासले धरौटीमा छाड्ने आदेश दिएको हो । उनले नेपाली कागजको डायरीमा लुकाएर उक्त चरेस दिल्ली पठाउन खोजेका थिए । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले उनलाई ९ भदौमा एयरपोर्टबाट पक्राउ गरेको थियो ।

निकै दु:ख गरेर एक कारोबारीलाई पक्राउ गरेकोमा धरौटीमै छुटेपछि आफूहरू निराश भएको एक प्रहरी अधिकारीले बताए । यस्तै, नौ किलो तीन सय ग्राम चरेससहित पक्राउ परेका भीमकुमार राईलाई पनि २५ हजार धरौटीमा छाडिएको छ । कुमारीपाटीस्थित ब्लु स्टार कार्गाेका सञ्चालक राईलाई एनसिबीले चरेससहित २२ असारमा पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश अच्युत विष्टले उनलाई गत १६ भदौमा २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

प्राय: पाँच किलोभन्दा धेरै चरेससहित पक्राउ परेकालाई यसअघि अदालतले पुर्पक्षका लागि थुनामा पठाउने गरेको थियो । तर, पछिल्लो समय लागुऔषधका कारोबारी धमाधम छुट्न थालेपछि उनीहरूको हौसला बढेको प्रहरी अधिकारीहरू बताउँछन् । लागुऔषध नियन्त्रण ऐनमा चरेससहित पक्राउ परेकालाई दुईदेखि दश वर्षसम्म कैद सजाय हुने प्रावधान छ । न्यायाधीश विष्टकै इजलासले चरेससहित पक्राउ परेका योगराज गुरुङलाई पनि २५ हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।

एक किलो नौ सय ७४ ग्राम चरेससहित २९ असारमा एयरपोर्टमा पक्राउ परेका गुरुङलाई न्यायाधीश विष्टले २९ भदौमा २५ हजार धरौटीमा छाड्ने आदेश दिएका हुन् । नौ किलोसहित पक्राउ परेका र करिब दुई किलो चरेससहित पक्राउ परेकालाई उनले समान २५ हजार धरौटीमा छाड्ने आदेश दिएका छन् । यसैगरी, १८ किलो चरेससहित पक्राउ परेकाहरूसमेत धरौटीमै छुटेका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजेश काफ्लेले गत ८ फागुनमा महको बट्टामा लुकाएर चरेस तस्करी गर्न खोज्नेलाई ४०–४० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए । १८ किलो चरेससहित पक्राउ परेका मनबहादुर गुरुङ, तीर्थनाथ सापकोटा, धनबहादुर फागूलाई धरौटीमै छाड्ने आदेश दिइएको हो । महको डिब्बाभित्र चरेस लुकाएर हङकङ तस्करी गर्न लागेको आरोपमा उनीहरू एयरपोर्टमा पक्राउ परेका थिए ।

ठमेलको ब्लु स्टार कार्गाेमार्फत उनीहरूले चरेस तस्करी गर्न खोजेका थिए । न्यायाधीश काफ्लेले नै गत वर्ष १७ मंसिरमा १० किलो चरेससहित पक्राउ परेका चारजनालाई २०–२० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका थिए । लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेका टीकाराम कार्की, कोकनाथ भट्टराई, आइता तामाङ र तुलबहादुर तामाङलाई १० किलो चरेससहित पक्राउ गरी मुद्दा दायर गरेको थियो ।

क्यानडामा चरेस तस्करी गर्न खोज्ने क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल लागुऔषध कारोबारीको केन्द्र बन्दै गइरहेको छ । नेपालमा उत्पादन हुने चरेसको कारोबारमा विश्वभरका गिरोह सक्रिय हुने गरेका छन् भने नेपाललाई ट्रान्जिट बनाएर हेरोइन, कोकिनजस्ता लागुऔषध तस्करी हुने गरेको छ ।

लागुऔषधमा धेरै पैसा हुने भएकाले जेलबाट छुटेपछि पनि कतिपय फेरि यही धन्दामा लाग्ने गरेका छन् । तर, ठूलो मात्रामा लागुऔषधसहित पक्राउ परेकाहरू सामान्य धरौटीमै छुट्न थालेपछि यसरी लागुऔषध कारोबारको नियन्त्रणमा कठिन हुने प्रहरी अधिकारीहरू बताउँछन् । –नयाँ पत्रिकामा खबर छ ।