६ चैत, काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।

विभागले एक सूचना जारी गर्दै स्कुल कलेजसहित विभिन्न शैक्षिक संघ संस्था बन्द गरेसँगै सार्वजनिक सवारीमा यात्रुको चाप बढ्ने अनुमानका आधारमा रुट परमित खुला गरेको जनाएको हो । यद्यपि बिबी राजमार्गमा भने हाल कायम रहेको मापदण्डभित्रका सवारी मात्रै जान पाउनेछन् ।

काठमाडौं बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन यस्तो निर्णय लिइउको विभागले बताएको छ । इजाजतपत्र खुला भएसँगै वैशाख ३ गतेसम्म जुनसुकै सार्वजनिक सवारी रुट परमिट विना नै देशभर जहाँ पनि जान सक्नेछन् ।

यस्तै विभागले अर्को सूचना जारी नहुन्जेलसम्मको लागि सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण त्रास बढेसँगै आवेदन र ट्रायल दिन ठूलो भीडभाड हुने भएकाले सेवा स्थगनको निर्णय लिइएको विभागले जनाएको छ ।