किरण भट्टराई

८ असोज, काठमाडौं ।
के तपाईँ सार्वजनिकस्थानमा गलत कार्य गर्दै हुनुहुन्छ ? गर्दैहुनुहुन्छ भन्ने सचेत हुनुहोस्, तपार्इँ क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामेराको निगरानीमा हुनुहुन्छ ।

काठमाडौँ उपत्यकाको अति व्यस्तस्थल, संवेदनशील क्षेत्र र प्रमुख सडक क्षेत्रमा सिसिटिभी जडान गर्ने कार्यलाई प्रहरीले तीव्रता दिएको छ । दुई सय ४१ ठाउँमा सिसिटिभी जडान रहेकोमा अब थप ९४ स्थानमा सिसिटिभी जडान गर्ने कार्य भइरहेको महानगरीय प्रहरी कार्यालयका आयुक्त प्रतापसिंह थापाले बताए।

police cctv camera observe

चक्रपथ क्षेत्रभित्र त्यस्ता क्यामरा राखिँदै आएकोमा अब चक्रपथ बाहिर पनि विस्तार गर्न थालिएको उनले बताए । करिब रु दुई करोडको लगानीमा ती क्षेत्रमा क्यामरा जडानकार्य भइरहेको छ ।

जावलाखेल, सातदोबाटो, एकान्तकुना, बूढानिलकण्ठ र महाराजगन्ज लगायत स्थानमा नयाँ क्यामेरा जडान गर्न लागिएको बताउँदै आयुक्त थापाले सिसिटिभी जडानले नागरिकलाई सार्वजनिकस्थानमा गलतकार्य नगर्न सचेत गराउने तथा कार्यक्षेत्रमा खटिएका प्रहरीलाई समेत आफ्नो जिम्मेवारीप्रति सजग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सकिने विश्वास व्यक्त गरे ।

कतिपय बेला घटना घटिसकेपछि सम्बन्धित घटनाबारे सिसिटिभीको रेकर्डमार्फत अध्ययन अनुसन्धान गर्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन समेत यसको प्रयोग प्रभावकारी भएको उनको भनाइ छ ।

यस्ता रेकर्ड १५ दिनसम्म सुरक्षित राखिने भएकाले अनुसन्धान गर्न उपयोगी सिद्धभएको बताउँदै आयुक्त थापाले आवश्यकता अनुसार त्यस्तो फुटेज लामो समयसम्म समेत राख्न सकिने बताए ।

नघुम्नेस्थिर क्यामरा र घुम्नसक्ने ‘पिटिजेड’ क्यामरा गरी दुई किसिमका सिसिटिभी क्यामरा जडान गरिएको छ । पुराना क्यामराको क्षमता केही कम भए पनि नयाँ जडान गरिएका क्यामरा अत्याधिक क्षमतायुक्त छन् ।

आयुक्त थापाले भने– “कुनै व्यक्तिले कागजमा के लेखिरहेको छ भन्ने समेत ‘जुम’ गरेर हेर्न सकिन्छ ।”

कुनै शङ्कास्पद गतिविधि क्यामेरामा देखिएमा तुरुन्त त्यस स्थानमा प्रहरी परिचालन गर्नेदेखि लिएर सडकको अस्तव्यस्तता र फुटपाथको अतिक्रमण हटाउनसम्मका काममा क्यामेरा सहयोगी बनेको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक शरद चन्दले बताए ।

प्रहरीले सिसिटिभी क्यामरा राखेपनि ति स्थानमा क्यामरा राखिएको जानकारी सार्वजनिक रुपमा दिनुपर्नेमा त्यसो नगरेको कारण विवादको घेरामा समेत परेको छ ।

प्रवक्ता चन्दले भने– “क्यामेरा राखेका ठाउँमा तपाईँ सिसिटिभी निगरानीमा हुनुहुन्छ भन्ने जानकारी सहितको बोर्ड लेखेर राखेका छौँ तर कतियप ठाउँमा स्थान अभावका कारण जानकारी दिन नसकेको सत्य हो ।”

प्रहरीले सवारी साधनबाट अनावश्यक रकम असुल्ने आरोप लागेका स्थान नागढुङ्गा, थानकोटमा समेत अत्याधुनिक क्षमतायुक्त क्यामरा राखिएको छ । आयुक्त कार्यालयको भूई तल्लाको एक कोठमा उपत्यकाभरिको गतिविधि सिसिटीभी मार्फत निगरानी गरी राखिएको छ । त्यहाँ आधा दर्जन भन्दा बढी प्रहरीले २४ सै घण्टा निगरानी गरिराखेका हुन्छन् ।

आयुक्त थापाकै कार्यकक्षमा समेत ६ स्थानको सिसिटिभी राखिएको छ । जसमार्फत उहाँले ती स्थानको निगरानी गरिराख्नुभएको हुन्छ । थापाले भने–“अपराध नियन्त्रण गर्न, घटना घटेपछि तुरुन्त प्रहरी परिचालन गर्न यसले सजिलो भएको छ ।”

त्यसबाहेक सार्वजनिक समारोह, पर्व, प्रदशर्नमा समेत स्थान विशेषमा सो दिनका लागि छुट्टै सिसिटिभी क्यामेरा जडान गरी प्रहरीले निगरानी गर्ने गरेको छ । क्यामराबाट ती स्थानमा खटिएका प्रहरीको समेत निगरानी गरिएको हुन्छ ।

प्रहरी बाहेक पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र, व्यक्तिको निजी घर, निजी कार्यालय, कारखाना र टोल/टोलमा समेत व्यक्ति वा सामूहिक लगानीमा सिसिटिभी राखिएका छन् ।