९ पुस, पथरी (मोरङ)।

नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले सीमाङ्कनमा हेरफेर गरेर भए पनि अहिले देखिएको समस्या समाधान गर्नुपर्ने बताएका छन् ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९२औँ जन्मजयन्तीका अवसरमा बुधबार बेलुका मोरङको बेलबारीमा आयोजित कार्यक्रममा उनले नयाँ संविधान कार्यान्वयन गर्न पनि मधेसको विवाद तत्काल टुङ्ग्याउनु जरुरी छ भने ।

मुलुकको समस्या समाधानका लागि प्रजातन्त्रवादी शक्तिबीच एकता आवश्यक रहेको भन्दै नेता निधिले आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पित गर्ने संस्थापक नेता कृष्णप्रसाद भट्टराईको योगदानलाई काँग्रेसले कहिल्यै नबिर्सने बताए ।

उनले काँग्रेस र मधेस केन्द्रित दलसँग भइरहेको वार्ता सकारात्मक भएकाले पनि दुई दिनभित्र निकास निस्कने दाबी गरे ।

कार्यक्रममा सांसद अमृत अर्याल, डिकबहादुर लिम्बू, दिलीप गच्छदारले नयाँ संविधानले सबै जातजातिको अधिकारलाई सुनिश्चित गरेकाले संविधान कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष डिला सङ्ग्रौलाले सीमाङ्कनको विषयमा मधेसी मोर्चा लचिलो हुनुपर्ने बताए ।

कार्यक्रममा शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष केशव निरौला, नेपाली काँग्रेस मोरङका उपसभापति हरिलाल सिंहलगायतले स्वर्गीय भट्टराईको योगदानबारे चर्चा गरेका थिए। रासस