कोरिया संवाददाता।

२७ पुस, दक्षिण कोरिया।

दक्षिण कोरियामा फेरी एक नेपाली इपिएस कामदारको मृत्यु भएको छ । करिब सात महिना अघि इपिएस मार्फत यहाँ आएका संखुवासभा मानेभन्ज्याङका चौँतिस वर्षिय ठाकुरप्रसाद याम्फु राईको गएराती सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मृतक राई छाल्लाबोक्दोमा रहेको बंगुर फर्म कार्यरत रहेको बुझिएको छ । उनी आइतबार बिदामा रहेको तथा राम्रो सँग खाना खाएर राति सुतेको त्यही फर्ममा काम गरिरहेका उनका सहकर्मीले जानकारी दिएका छन् ।

मृतक राईका सहकर्मीका अनुसार उनी मध्यरातमा एक पटक घुरेका थिए । अनौठो घुरेको आवाज सुनेपछि साथीहरुले मृतक राईलाई उठाएको तर उनको अवश्था गम्भिर देखेपछि एम्बुलेन्स बोलाएका थिए । यद्यपी एम्बुलेन्स घटनास्थलमा आई पुग्न नपाउदै उनको ज्यान गएको साथीहरुले बताए ।

घटनाका बारेमा नेपालमा रहेका उनका परिवारजन र सोलस्थित नेपाली राजदुतावासमा जानकारी गराइएको मृतक राईका सहकर्मीहरुले जनाएका छन् । नेपाली दुतावासमा उपनियोग प्रमूख किरण शाक्यले पनि घटनाको बारे खबर आएको र त्यस बारे विस्तृत जानकारी लिने काम भइरहेको जानकारी दिएका छन् ।

कोरियामा जाडोसँगै सुतेको अवश्थामा मृत्यु हुने कामदारको संख्या बढेको छ । गत वर्ष पनि नाम्याङस्थित एक स्टिल कम्पनीमा कार्यरत एक नेपालीको सुतेको अवश्थामा मृत्यु भएको थियो । उनको ह्दयघातका कारण मृत्यु भएको थियो । गएराति मृत्यु भएका राई काम गर्ने फर्ममा नौ जना नेपाली कार्यरत रहेको बुझिएको छ ।

यो पनि पढ्नुस्।

निवासको भाडा बढि देखाएर भ्रष्टाचार गरेको आरोपको राजदूत लामाद्धारा खण्डन, प्रमाणित गरेर देखाउन चूनौति

भविष्यमा देख्न सकिने भवन, आर्किटेक्टले बनाए डिजाइन

कोरियामा काम गर्नेको न्यूनतम ज्याला सवा लाख