२६ जेठ, काठमाडौ ।

दश वर्षीय बालकलाई अपहरण गरी रु ५० लाख फिरौती माग्ने भक्तपुर कौशलटार सागबारी दोलखा मार्बु–९ का भीमबहादुर मगर र सोही गाविस–३ का रुद्र खत्री (अभिषेक) लाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।

फिरौती रकम मागेको सूचना प्राप्त भएको चार घण्टामै महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले भक्तपुरको बालकोट र कौशलटारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

अभियुक्तद्वयले यही जेठ २३ गते अपराह्न ३ बजे सिन्धुपाल्चोक धुवाचौर–१ का स्थायी बासिन्दा भीमसेन बन्जाराका छोरालाई गोकणेश्वर नगरपालिका–१४ दक्षिणढोका अर्याल गाउँ नजिकको चौरबाट फुटबल हेर्न जाने बहानामा अपहरण गरेका केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

अपहरणकारीले कृष्ण मन्दिर नजिकैको जङ्गलमा बालकलाई लगेर कुटपिट गरेका थिए । कुटपिटबाट बालक मरेको ठानी उनीहरूले उनलाई खाडलमा पुरेका थिए । “ बच्चा चाहिने भए रु ५० लाख लिई जेठ २५ गते सोमबार १० बजे सिन्धुपाल्चोकको एक्काइस किलोको काला पत्थरमा आउनू” भनी बालकका अभिभावकलाई फोन तथा ‘टेक्स्ट’म्यासेज गरेका थिए ।

खाल्डोमा पुरिएको दुई घण्टापछि बालक होसमा आएका र घटनास्थल नजिकको अल माइटी मोडेल स्कूलतर्फ रुदै आएका उनलाई उक्त विद्यालयका शिक्षकले आतरखेलस्थित शिक्षण अस्पताल पुर्‍याएका थिए । उनको घाँटी, आँखा र छातीमा गम्भीर चोट लागेको छ ।

प्रहरीले भीमबहादुर मगरबाट फिरौती रकम माग गर्न प्रयोग गरेको ९८१६७४१८८९ नम्बरको मोवाईल र एउटा खुकुरी बरामद गरेको छ । उनीहरुलाई अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगअन्तर्गत कारबाहीको गर्न महानगरीय प्रहरी बृत्त बौद्ध पठाइएको छ । रासस