२२ माघ, भीमदत्तनगर।

नेपाली सेनाले कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१० झिलमिलामा बिहीबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्यो ।

army kanchanpur health camp

सेनाको नं. २५ बाहिनी अड्डा, भवानी बक्स गण, मझगाउँ ब्यारेक, हनुमानध्वज गुल्म र २५ फिएको संयुक्त आयोजनामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

शिविरमा दम, रुघाखोकी, हात खुट्टाको जोर्नी दुख्ने, टाउको दुख्ने, महिलाको पाठेघर सम्बन्धी समस्यालगायतका बिरामीको चिकित्सकको टोलीले स्वास्थ्य जाँच गरी निःशुल्क औषधि समेत प्रदान गरेको भवानीबक्स गणका गणपति प्रमुख सेनानी उत्तम थापाले जानकारी दिए ।

उनले सो क्षेत्रका महिला, वृद्धवृद्धा तथा बालबालिका गरी २६२ जनाले शिविरबाट स्वास्थ्य सेवा लिएको जानकारी दिए ।

‘सेनाले परम्परादेखि नै सामाजिक कामलाई निरन्तरता दिँदैं आएको छ ।’ उनले भने–‘‘यहाँका बाढीपीडीत, न्यून आयस्रोत भएका स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा दिन शिविर सञ्चालन गरिएको हो ।’

शिविरमा बाहिनीका सहायक सेनानी डा प्राकृत क्षेत्री नेतृत्वको चिकित्सकको टोली स्वास्थ्य जाँचका साथै उपचारमा खटिएको थियो ।

‘बुढापाकामा दम, हात खुट्टाका जोर्नीहरु दुख्ने, आँखाबाट पानी बग्नेलगायतका समस्या बढी देखियो ।’ डा क्षेत्रीले भने–‘बालबालिका रुघाखोकी र कान पाक्नेलगायतका समस्याबाट बढी प्रभावित भएका रहेछन् ।’

त्यसैगरी, नेपाल परिवार नियोजन सङ्घका तर्फबाट कृत्तिका राणा नेतृत्वको समूहले महिलालाई परिवार नियोजन सम्बन्धि परामर्श दिनुका साथै परिवार नियोजनका अस्थायी साधनको प्रयोगबारे जानकारी गराएका थिए ।

शिविर सञ्चालनबाट बाँकी रहेको औषधि सेनाले सोही क्षेत्रमा रहेको रौतेलीबिचुवा स्वास्थ्य चौकीलाई उपलब्धसमेत गराएको छ । शिविरमा भवानी बक्स गणका गणपति उत्तम थापा, हनुमानध्वज गुल्मका सहायक सेनानी असिम श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

सेनाले सोही क्षेत्रमा गतवर्ष पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । भौगोलिक विकटताका कारण झिलमिला, भुडालगायतका नागरिक स्वास्थ्य सेवाको पहुँचबाट बाहिर बढी रहेकाले सेनाले उक्त दुर्गम भेगमा शिविर सञ्चालन गरेको जनाएको छ । रासस