११ चैत, एजेन्सी।

सन् २०१४ मा थाई सेनाले सत्ताकब्जा गरेयता थाइल्यान्डमा आइतबार पहिलोपटक संसदको आमनिर्वाचन भएको छ ।

निर्वाचन आयोगका महासचिव जारुङभिथ फूम्माले मतदानको समय समाप्त भएको जानकारी दिँदै करिब ८० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको बताए।

थाइल्यान्डमा केही वर्षदेखि राजनीतिक अस्थिरता हाबी छ । सैनिक पक्षधर र सत्ताच्यूत गरिएका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राका समर्थकबीच मुख्यरुपमा सङ्घर्ष चलिरहेको छ ।

पछिल्लो पटक सन् २०१४ मा सत्ता हत्याएपछि थाइल्यान्डको शक्तिशाली सेनाले कानुन व्यवस्थालाई सही मार्गमा ल्याउने र लोकतन्त्र पुनर्वहाली गर्ने बचनबद्धता प्रकट गरेको थियो, तर पटकपटक आमनिर्वाचन स्थगन गर्दै आएको थियो ।

आलोचकहरुको भनाईमा सेनाले जारी गरेको नयाँ संविधानले पछिल्लो मतदानबाट जस्तोसुकै परिणाम आएपनि सत्तामाथि सेनाको प्रभाव विशिष्ट रहनेछ । संविधानमै नयाँ संसदमा सेनाका व्यक्तिहरुको बाक्लो उपस्थितिलाई सुनिश्चित गरिएको छ ।

यस पटकको चुनावमा पाँच करोडभन्दा बढी व्यक्ति मतदानका लागि योग्य थिए । १८ देखि २६ वर्ष उमेर समूहका सत्तरी लाखभन्दा बढी व्यक्तिले पहिलो पटक मतदानमा भाग लिँदैछन् । सबैजसो पार्टीले यो समूहको झुकावलाई विशेष महत्व दिएका छन् ।

चुनावको पूर्वसन्ध्यामा थाइल्यान्डका नरेश माहा वाजीरालोङकोर्नले मतदानलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आम देशवासीसँग आग्रह गरेका थिए । थाइ नरेशको आह्वानलाई स्थानीय सबैजसो टेलिभिजनहरुले पटक पटक प्रसारण गरेका थिए ।

विद्यालय, मन्दिर, सरकारी कार्यालय लगायतका ठाउँमा विहानैदेखि मतदान गर्नेहरुको भीड लागेको थियो ।

निर्वाचनका लागि देशभर पाँच करोड १० लाखभन्दा बढी मतदाता रहेका छन् । तीमध्ये झण्डै एक लाख २० हजार मतदाताले देश बाहिरबाट मतदान गर्न पाउने छन् । निर्वाचन आयोगका अधिकारीका अनुसार देश बाहिरबाट मतदान गर्नेहरू ६७ देशमा रहेका छन् ।

निर्वाचनमा झण्डै १० हजार उम्मेदवार चुनावी मैदानमा छन् । थाइल्याण्डमा कूल ३५० निर्वाचन क्षेत्र रहेका छन् । हरेक निर्वाचन क्षेत्र र पार्टीको सूचीबाट गरी निर्वाचन हुने कूल सांसदको संख्या भने पाँच सय रहेको छ ।

निर्वाचनमा झण्डै ४० राजनीतिक दलले भाग लिएका छन् । पूर्व प्रधानमन्त्रीद्वय थाक्सिन सिनावात्रा र यिङ्लक सिनावात्राको थाई रक्षा चार्ट नामक पार्टीलाई भने अदालतले विघटन गरिदिएपछि सो पार्टी निर्वाचनमा सहभागी हुनबाट बञ्चित भएको छ ।

थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैनिक सत्ताविद्रोहबाट पदच्यूत गरिएको थियो । त्यसपछि सन् २०१४ मा उनकी बहिनी यिङ्लकको सत्तामा पुनरागमन भएको थियो । तर उहाँलाई पनि भ्रष्टाचारको आरोपमा सत्ताबाट हटाइएको थियो ।

त्यसपछि पाँच वर्षदेखि सैनिक जनरल प्रयुत चान–ओ–चाले सरकारको नेतृत्व गरेका छन् । उनि पनि अहिले निर्वाचनमा प्रतिस्पर्धी हुन।