११ साउन, काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र गाउँपालिका अध्यक्ष पदमा बढी स्थान जितेर पहिलो बनेको नेकपा एमालेले समग्रमै स्थानीय तहको सम्पूर्ण पदको ४५ प्रतिशत हिस्सा जित्न सफल भएको छ । पहिलो र दोस्रो चरणमा निर्वाचन सम्पन्न भएको स्थानीय तहको सम्पूर्ण पदमा एमालेले अन्य दललाई उछिनेको छ ।

स्थानीय तहका विभिन्न पदमा २८ हजार ४ सय ९ जना निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालिसकेका छन् । त्यसमा एमालेका १२ हजार ८ सय ४५ जनाले चुनाव जितेका छन् । उक्त संख्या गाउँपालिका तथा नगरपालिकामा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी ७ पदमा निर्वाचितको हो । आजको कान्तिपुरमा खबर छ ।

एमालेले नगरप्रमुख १११, उपप्रमुख १२३, गाउँपालिका अध्यक्ष १६५, उपाध्यक्ष १८९, वडाध्यक्ष २,३३०, वडा सदस्य ४,९७०, महिला सदस्य २,५२५ र दलित महिला सदस्य २,४३२ सिट जितेको छ ।

७ सय ४४ स्थानीय तहमध्ये पहिलो र दोस्रो चरणमा गरी ६१७ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ । देशभरका कुल ६,६८४ वडामध्ये ५,४७२ वडामा निर्वाचन भइसकेको छ । पहिलो चरणमै निर्वाचन सम्पन्न भएर पनि मतगणना विवादका कारण भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख तथा वडा नम्बर १९ र २० को परिणाम रोकिएको छ । त्यसबाहेक सबैतिर जनप्रतिनिधीले काम थालिसकेका छन् ।

कांग्रेसले सबै पदमा गरी ९ हजार ७ सय ८ पदमा जित हासिल गरेको छ । उक्त संख्या कुल निर्वाचित पदको ३४ दशमलव १७ प्रतिशत हो । कांग्रेसले नगर प्रमुख ७९, उपप्रमुख ६१, गाउँपालिका अध्यक्ष १४७, उपाध्यक्ष १२६, वडाध्यक्ष १,९४६, वडा सदस्य ३७४४, महिला सदस्य १,८३२ तथा दलित महिला सदस्य १,७७३ सिट जितेको छ ।

सम्पूर्ण पदमा गरी १५ दशमलव १८ प्रतिशत सिट जितेर माओवादी केन्द्र तेस्रो स्थानमा छ । उसले कुल ४ हजार ३ सय १३ पदमा जित हासिल गरेको छ । नगरप्रमुख २०, उपप्रमुख २५, अध्यक्ष ६४, उपाध्यक्ष ६२, वडाध्यक्ष ८७२, वडा सदस्य १,६३५, महिला सदस्य ८१७ र दलित महिला सदस्य ८१८ सिट जितेको छ । प्रमुख तीन दल एमाले, कांग्रेस र माओवादीले स्थानीय तहमा कुल पदको ९५ प्रतिशत हिस्सा ओगटेका छन् ।

बाँकी ५ प्रतिशत सिटमा राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, लोकतान्त्रिक फोरम, नयाँ शक्ति, नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेकपा (माले), परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, बहुजन शक्ति पार्टी तथा स्वतन्त्रसमेतले जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय निर्वाचनमा ७३ राजनीतिक दलले भाग लिएकोमा १४ दल मात्रै कुनै न कुनै पदमा जित हासिल गर्न सफल भए ।

आयोगको सूचना प्रविधि व्यवस्थापन महाशाखाले तयार पारेको नजिता पुस्तिकाअनुसार संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको गठबन्धनले चौथो स्थान प्राप्त गरेको छ । ती दुई दलले गरी ४७० पदमा जितेका छन् । उक्त गठबन्धनले उपप्रमुख १, गाउँपालिका अध्यक्ष ९, उपाध्यक्ष ७, वडाध्यक्ष ८८, सदस्य १७४, महिला सदस्य ९८ र दलित महिला सदस्य ९३ सिट जितेको छ । लोकतान्त्रिक फोरमले नगरप्रमुख १, उपप्रमुख १, अध्यक्ष ५, उपाध्यक्ष ४, वडाध्यक्ष ५६, सदस्य ११५, महिला सदस्य ५६ र दलित महिला सदस्य ५७ सहित २९५ स्थान जितेको छ । यस्तै, स्वतन्त्रबाट नगरप्रमुख २, अध्यक्ष ४, उपाध्यक्ष ५, वडाध्यक्ष ५९, वडासदस्य ६०, महिला सदस्य २३ र दलित महिला सदस्य २२ जना गरी १ सय ७५ जनाले जितेका छन् ।

राप्रपाले नगर प्रमुख १, उपप्रमुख, ३, अध्यक्ष ४, उपाध्यक्ष ४, वडाध्यक्ष ५३, वडासदस्य ९७, महिला सदस्य ५० र दलित महिला सदस्य ४५ समेत गरी कुल २ सय ५७ सिट जितेको छ । राष्ट्रिय जनमोर्चाले गाउँपालिका अध्यक्ष ३ र उपाध्यक्ष ४ सहित १८६, नेमकिपाले १ प्रमुख र १ उपप्रमुखसहित ९९ स्थान जितेका छन् । त्यस्तै, बहुजन शक्ति पार्टीले ७ वडाध्यक्ष र सदस्य गरी ३७, राष्ट्रिय जनमुक्ति पार्टीले वडाध्यक्ष १ सहित १२, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले १ वडाध्यक्षसहित ७, नेकपा मालेले १ वडाध्यक्षसहित ४, राष्ट्रिय जनमुक्ति पार्टीले २ महिला सदस्य र नेपाल परिवार दलले १ दलित महिला सदस्य जितेका छन् ।